बुद्ध नेपाली, सिन्धुली
साढे दुई वर्षमा सिन्धुलीमा साढे १८ हजार आँखाका बिरामी भेटिएका छन्।
सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीमा उपचारका लागि आएका बिरामीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३÷७४ देखि २०७५÷०७६ माघ ९ गतेसम्म १८ हजार ६ सय ३६ आँखाका बिरामी भेटिएका हुन्। केन्द्रका अनुसार साढे २ वर्षमा महिला दश हजार ४ सय ४८ जना र पुरूष ८ हजार १ सय ८८ जना आँखाका बिरामी उपचारका लागि आएका छन्।
सामुदायिक आँखा उपचार केन्द सिन्धुली जिल्लाका मात्र नभई उदयपुर, महोत्तरी, रामेछाप, दोलाखा, ओखलढुंगालगायतका जिल्लाबाट पनि उपचारकाली बिरामी आउने गरेको सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीका इन्चार्ज धनबहादुर मगरले जानकारी दिनुभयो।
इन्चार्ज मगरका अनुसार जिल्लाका ९ वटा स्थानीय तहमध्ये कमलामाई नगरपालिका र दुधौली नगरपालिकाबाट आँखाका बिरामी धेरै आउने गरेका छन्। सिन्धुली र आसपासका जिल्लाबाट आँखाको उपचारका लागि आएकामध्ये सबैभन्दा धेरै आँखाका मौसमी संक्रमण र मोतियाविन्दु भएका ९ हजार ८ सय २४ जना केन्द्रमा आएका छन्। जसमध्ये महिला ५ हजार ७ सय १८ छन भने पुरूष ४ हजार १ सय ६ जना रहेका छन्।
त्यस्तै आँखामा लाग्ने चोटपटक र चस्मा लगाउनुपर्ने महिला २ हजार ९ सय ३९ र पुरूष २ हजार २ सय ८ गरी ५ हजार १ सय ४७ जना उपचारका लागि आएक इन्चार्ज मगरको भनाइ छ। मगरका अनुसार आँखाका अन्य रोग भएका ३ हजार ६ सय ६५ उपचारका लागि आएका छन्।
आँखाको उपचारका लागि आउनेमध्ये उमेरका आधारमा सबैभन्दा धेरै १५ देखि ५९ उमेरका रहेका छन्। साढे दुई वर्षमा १५ वर्षदेखि ५९ वर्ष उमेरका १२ हजार १ सय ६१ आँखाका बिरामी उपचारका लागि आएको केन्द्रले जनाएको छ। १४ वर्षमुनिका २ हजार ९ सय ४२ र ६० वर्षभन्दा माथिका ३ हजार ५ सय ३३ जना आँखाका बिरामी उपचारका लागि आएका छन्।
केन्द्रले आँखाका बिरामीको उपचारका लागि समय समयमा केन्द्रमै तथा जिल्लाका विभिन्न ठाउँमा निःशुल्क आँखा शिविरसमेत सञ्चालन गर्दै आएको छ।











प्रतिक्रिया