चार दिनसम्म पत्ता लागेन मान्छे हान्ने गाडी

0
Shares

रामचन्द्र विक, रामेछाप
मेछापको मन्थलीमा मंगलबार बिहान मर्निङ वाकमा हिँडिरहेकी एक महिलालाई ठक्कर दिने सवारी ४ दिन पुग्दासमेत फेला परेको छैन। मन्थलीको आकासे पक्की पुलको नजिकै मर्निङ वाकमा हिँडिरहेकी मन्थली नगरपालिका–१ बीच बजरकी कुमारी माया रिजाललाई ठक्कर दिएर गाडी भागेको थियो।

करिब बिहान साढे पाँच बजेको समयमा मर्निङ वाकमा हिँड्दै गरेकी रिजालको गाडीको ठक्करबाट देब्रे खुट्टामा गहिरो चोट लागेको छ। गाडीले ठक्कर दिएपछि रिजाल बेहोस भएर ढलेको र बाटो हिँड्ने मानिसले देखेर प्रहरीलाई खबर गरेपछि उनलाई प्रहरीले नै भ्यानमा राखेर आफन्तलाई बुझाएका थिए। उनको अहिले काभे्रको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

उता ठक्कर दिने सवारीको खोजी भइरहेको तर अहिलेसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ। घटना घटेको समयमा उक्त सडक हुँदै चलेका पाँच सवारीसाधनलाई चेकजाँच गर्दा उनीहरूले ठक्कर नदिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख अमरेन्द्रबहादुर सिंहले जानकारी दिए।

घाइतेले आफूलाई ठक्कर दिने सवारीसाधन प्रष्टसँग नदेख्दा ठक्कर दिने सवारीसाधन खोज्न सम्या भएको सिंहको भनाइ छ। ठक्कर दिने सवारीसाधान खोजीको लागि विभिन्न ठाउँका प्रहरी चेकपोस्टमा ट्राफिक प्रहरी खटाइएको प्रहरी प्रमुख सिंहले जनाकारी दिए। घटनास्थलमा गाडी फुटेर झरेका केही टुक्रासमेत भेटिएका छन्।

ठक्कर दिने सवारीसाधन खोजी गरी कारबाहीको माग गर्दै आफन्तले मंगलबार नै प्रहरीमा निवेदनसमेत दिएका थिए। तर अहिलेसम्म ठक्कर दिने सवारी नभेटिनु दुखद् भएको घाइतेको छोरा आकाश रिजालले बताए। उनले ठक्कर दिने सवारीसाधन खोजी गरी कडा कारबाही गर्न सम्बन्धित सबैलाई आग्रहसमेत गरे।