उन्मूलन भएको ८ वर्षपछि पनि रोग विकराल रूपमा फैलिएकोमा चिन्ता
नेपाल समाचारपत्र, ललितपुर
गोदावरी नगरपालिका–६ मा रहेको आनन्दवन अस्पतालले ६६औं विश्व कुष्ठरोग दिवस मनाएको छ। अस्पतालले शुक्रबार एक कार्यक्रमको आयोजना गरी कुष्ठरोग कार्यक्रमको गन्तव्य, गलत धारणा र विभेदको अन्त्य भन्ने नाराका साथमा यस वर्षको दिवस मनाएको हो।
कार्यक्रममा अस्पतालका वरिष्ठ छालारोग विशेषज्ञ डा। महेश शाहले कुष्ठरोग धेरै पुरानो रोग भएर पनि पूर्वाग्रहमा परेर अलमलिरहेकै कारण यो रोग निर्मूल पार्न असहज भइरहेको बताउनुभयो। सन् २०१० मा शून्य दशमलव ७९ प्रतिशत कुष्ठ प्रभावित संख्या रहेको बेला कुष्ठरोग उन्मूलनको घोषणा गरिएको थियो, तर अहिले त्यो संख्या बढेर शून्य दशमलव ९४ प्रतिशत पुगेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो। ‘यो रोग समयमै पहिचान गरेर उपचार गरे निको हुन्छ, तर यसको रूप विकराल रूपमा फैलिएको छ। ८ वर्षअघि रोगको उन्मूलन गरे पनि अहिले यसको समस्या यथावत छ’ –उहाँले चिन्ता व्यक्त गर्नुभयो।
नेपालमा १ लाख ८५ हजार कुष्ठरोगी औषधि सेवन गरी निको भइसकेका छन् भने ३० हजार कुष्ठरोगकै कारणले अपांगता भएका छन्। त्यस्तै गरी कुष्ठरोगका नयाँ बिरामी हरेक वर्ष नेपालमा ३ हजारभन्दा धेरै थपिने गरेकाले पनि विशेषज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। द लेप्रोसी मिसन नेपालले सञ्चालनमा ल्याएको यस अस्पतालले स्थापना कालदेखि कुष्ठ प्रभावितलाई उपचार सहयोग गर्दै आइरहेको छ।
विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म कुष्ठरोगीको संख्या शून्य, एक व्यक्तिबाट अर्कोमा सर्ने संख्या, कुष्ठरोगकै कारणले अंगभंग र अपहेलना र तिरस्कारमा पर्ने संख्यालाई शून्यमा झार्ने लक्ष्य तय गरेको छ। यसलाई नेपालले पनि पछ्याइरहेको छ।
तर दिनकै नयाँ रोगी भेटिने र अझै पनि यसता रोगीलाई समाजले हेर्ने दृष्टिकोणकै कारण रोग उन्मूलन हुनमा चुनौती थपेको विशेषज्ञले जनाएका छन्। त्यस्तै अस्पतालका निर्देशक शोभाकर कँडेलले कुष्ठरोगीलाई भेदभाव गर्न नपाइने स्वास्थ्य मन्त्रालयको नीति रहे पनि कानुन मन्त्रालयले कुष्ठरोगीले विवाह गर्न नपाउने कानुन ल्याएकोमा असन्तुष्टि जनाउनुभयो।
भदौदेखि लागू मुलुकी देवानी संहिता ऐन–२०७४ को दफा ७१ ‘ग’ मा कुष्ठरोगी भएको व्यक्तिले झुक्याई विवाह गर्न गराउन नहुने र त्यस्तो विवाह स्वतः बदर हुने व्यवस्थाले कुष्ठरोगीमाथि कानुनले नै भेदभाव गरेको उहाँले बताउनुभयो।
विश्वको ६० प्रतिशत कुष्ठरोगी रहेको मुलुक भारतमा कुष्ठरोगीले विवाह गर्ने पाउने व्यवस्था रहेको, तर नेपालमा शून्य दशमलव ९४ प्रतिशत संख्यामा कुष्ठरोगी रहे पनि विवाह गर्ने व्यवस्था नल्याएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो।











प्रतिक्रिया