सुन मुद्दा एउटै लगाउमा राख्न आदेश

0
Shares

सरोज यादव, विराटनगर
उच्च अदालत विराटनगरले सुन तस्करी प्रकरणमा परेका निवेदनलाई एउटै लगाउमा राख्ने आदेश दिएको छ। छ जना न्यायाधीशको एकै पटक भएको सरूवापछि बसेको पहिलो इजलासले सुन प्रकरणसँग जोडिएका निवेदनलाई एउटै लगाउमा राख्ने आदेश दिएको हो।

मंगलबार सरूवा भएर आएका कायममुकायम मुख्यन्यायाधीश शिवराज अधिकारी र हरिप्रसाद बगालको इजलासले मोरङ उर्लाबारीका सनम शाक्य हत्या र सुन तस्करी प्रकरणका निवेदनलाई एउटै लगाउमा राख्ने आदेश दिएको हो। जिल्ला अदालत मोरङको आदेशपछि थुनामा रहेकाहरूले गरेको पुनरावेदन निवेदन दिएकामध्ये १२ वटा निवेदन पेसी चढेको थियो।

चर्चित मुद्दामा विवादित आदेश गरेको गुनासो आएपछि उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश कुलरत्न भुर्तेलसहित न्यायधीश नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेलको सरूवा भएको थियो। सुन मुद्दामा उच्च पदस्थलाई छाड्ने विवादित आदेश दिने पाँच जना न्यायाधीश र बेञ्च तोक्ने मुख्यन्यायाधीशलाई न्यायपरिषद्ले छानबिनका लागि तानेको हो।
सुन तस्करी प्रकरणमा जिल्लाको आदेशपछि थुनामा रहेका भुजुङ गुरूङ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, राजु महर्जन, कपिलराज पुरी, फाल्दुङ फुल्टुङ भनिने लक्षुबहादुर गुरूङ, अबु सलमान खान भन्ने सैयाद अकवर, डब्बु भनिने इस्तियाज उद्दिन, बेनु श्रेष्ठ, डाक्टर भेभिट भनिने छिरिङ वाग्ले घले, रेवतकुमार आचार्य, विनोद अधिकारी, मोतिराम श्रेष्ठ र कान्तिपुर होलिडेज र श्री एवल नेपाल ट्राभल्स एन्ड टुर प्रालिको मुद्दामा आदेश आउन बाँकी छ।

मोतीराम श्रेष्ठ, विनोद अधिकारी र रेवतकुमार आचार्यविरूद्ध नेपाल सरकारले जिल्ला अदालत मोरङको आदेशविरूद्ध उच्च अदालतमा निवेदन दायर गरेको हो। अधिकारी, श्रेष्ठ र आचार्यलाई उच्च अदालत मोरङले धरौटीमा छाड्ने आदेश दिएको थियो। गत वर्ष फागुन १८ गते मोरङ उर्लाबारीका सनम शाक्यको हत्या भएको थियो।

शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको सुन तस्करी प्रकरणको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले मोरङ प्रहरीमार्फत गत वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा दायर गरेको थियो। सो मुद्दामा १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपियाँबराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम ९करिब ३८ क्विन्टल० अवैध रूपमा सुन आयात गरिएको दाबी गरिएको छ।