सिद्धार्थ गौतम बुद्ध क्याम्पस शैक्षिक गुणस्तरमा अब्बल प्रमाणित

0
Shares

बुटवल, (नेस)
लालटिन बालेर कक्षा सञ्चालन गरेको बुटवलस्थित सिद्धार्थ गौतम बुद्ध सामुदायिक क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्राप्त गरेको छ।
२०४८ सालमा दिनभरि रोजगारी तथा मजदुरी गर्नेलाई मध्यनजर गरी साँझमा अध्यापन गराउने गरी रात्री क्याम्पसका रूपमा स्थापना गरिएको उक्त क्याम्पसले गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएसँगै १ करोड ५० लाखसम्मको अनुदान सहयोग पाउने भएको छ।

लुम्बिनी अञ्चल अस्पतालको नाममा रहेको जग्गा तत्कालीन मन्त्रिपरिषद्को निर्णय गराई क्याम्पस सञ्चालन गरिएको होे। यो गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाउनुअघि क्याम्पसले ५० लाख मात्र अनुदान पाउँदै आएको थियो।

त्यस्तै गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएपछि क्याम्पस विश्वस्तरीय शैक्षिक गन्तव्यको रूपमा परिणत, प्रतिस्पर्धात्मक वातावरणमा अब्बल, गुणस्तरीय शिक्षाको प्रत्याभूति, सामाजिक दायित्व पूरा, विभिन्न विश्वविद्यालय र क्याम्पससँग सहकार्यका लागि अवसर, अनुसन्धानात्मक क्रियाकलाप अगाडि बढाउन, मार्ग खुला र सुमधुर शैक्षिक वातावरण निर्माणका लागि टेवा पुगेको क्याम्पस प्रमुख बाबुराम पाण्डेले बताउनुभयो।

क्याम्पसले बिहीबार पत्रकार भेटघाट गरी क्याम्पसलाई ठूलो सफलता मिलेको बताएको छ। क्याम्पस प्रमुख पाण्डेले क्याम्पसको भौतिक पूर्वाधार, शिक्षाको गुणस्तर, विद्यार्थीको रोजगारको अवस्थालाई मूल्यांकन गरी गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्राप्त गरिएको जानकारी गराउनुभयो।

सिद्धार्थ गौतम बुद्ध क्याम्पससहित नेपालमा ३० वटा सामुदायिक क्याम्पसले गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्राप्त गरेको क्याम्पस प्रमुख पाण्डेले बताउनुभयो।

क्याम्पसलाई दीगोरूपमा सञ्चालनका लागि वित्तीय, शैक्षिक, व्यवसायी, औद्योगिकलगायतका विभिन्न ११ वटा क्षेत्रसँग समन्वय तथा सहकार्य गरिएको बताउनुभयो। हाल क्याम्पसमा ५३ प्राध्यापक १५ जना कर्मचारी कार्यरत र ३ हजार बढी विद्यार्थी अध्ययनरत रहेका छन्।

सिद्धार्थ क्याम्पस सञ्चालक समितिका अध्यक्ष हीराप्रसाद श्रेष्ठले सामुदायिक क्याम्पसको संरक्षण गरी विकास गर्नुपर्ने बताउनुभयो। उहाँले क्याम्पस चलाउनका लागि जग्गाको अभाव भएकाले बुटवल उपमहानगरपालिका र राजनीतिक दलसँग जग्गाको माग गरिएको बताउनुभयो।

गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्राप्त गरेको खुसीयालीमा क्याम्पसले बिहीबार बुटवलमा ¥यालीसमेत निकालेको थियो भन्ने शुक्रबार क्याम्पसमा विशेष कार्यक्रमसमेत आयोजना गरी मनाएको छ।