मेची–महाकाली यात्रा भव्य बनाउन निर्देशन

0
Shares

काठमाडौं, (नेस)
हिन्दू राष्ट्र पुनस्र्थापनाको लागि व्यापक जनदबाब सिर्जना गर्ने उद्देश्यसहित आगामी फागुन १५ देखि ३० गतेसम्म हुन लागेको ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ को तयारी तीव्ररूपमा भइरहेको छ। उक्त यात्रालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न २१ वटा समितिसमेत गठन भइसकेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं स्वाभिमान यात्रा मूल आयोजक समितिका संयोजक कमल थापाको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले आगामी माघ १५ गतेभित्र सबै समितिको बैठक सम्पन्न गरी मूल आयोजक समितिले दिएको कार्ययोजनाबमोजिमका कार्य सम्पन्न गर्न निर्देशन दिएको छ। बैठकमा अध्यक्ष कमल थापाले यात्रा तयारीको लगि गठन भएका सबै समितिलाई यात्रालाई भव्य बनाउन सम्पूर्ण तयारी पूरा गर्न आग्रह गर्नुभयो।

आउँदो माघ २० र २१ गते काठमाडौंमा बस्ने पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा २१ वटै समितिले आफ्नो तयारी प्रतिवेदन पेस गर्न सो बैठकले सम्बन्धित समितिलाई निर्देश गरेको छ। बैठकमा २१ वटै समितिका संयोजक तथा सदस्य सचिवको सहभागिता रहेको थियो। उक्त बैठकमा मूल आयोजक समितिका सदस्य सचिव सुशील श्रेष्ठले ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ को तयारीका लागि गठित विभिन्न समितिले गर्ने कामको बारेमा लिखित विवरण प्रस्तुत गर्नुभएको थियो।

स्वाभिमान यात्रा तयारीका लागि यसअघि १८ वटा समिति गठन भएका थिए भने शुक्रबार थप ३ वटा समिति गठन भएका छन्।

गठन भएका समितिमा केन्द्रीय सदस्य भुवन पाठकको संयोजकत्वमा समान विचारधारा भएका संघसंस्था समन्वय समिति, केन्द्रीय सदस्य एवं मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलको संयोजकत्वमा सञ्चारमाध्यम समन्वय समिति तथा केन्द्रीय सदस्य नीना भेटवालको संयोजकत्वमा अनुगमन तथा मूल्यांकन समिति रहेका छन्।