नेपाल समाचारपत्र, काठमाडौं
शुक्रबारबाट शुरू भएकको दक्षिण एसियाली महिलाको क्षेत्रीय सम्मेलनको कार्यवाहक प्रधानमन्त्री ईश्वर पोख्रेलले उद्घाटन गर्नुभएको छ।
दक्षिण एसियाका आठै देशका महिला अधिकारकर्मीको सहभागिता रहेको दुई दिने कार्यशाला गोष्ठीको उदघाटन गर्दै कार्यवाहक प्रधानमन्त्रीले नेपालको संविधान र कानुनले गरेको व्यवस्थाको कारणले पछिल्लो समय महिलाको राजनीतिक र नीतिनिर्माणको क्षेत्रमा उपस्थिति गौरव गर्न लायक रहेको बताउनुभयो।
यसै वर्ष नेपालमा सम्पन्न भएका निर्वाचन समावेशी र लैंगिक समानताका हिसाबले इतिहासकै ठूलो राजनीतिक सफलता भएको भन्दै उहाँले नेपालमा महिलाको समग्र क्षेत्रमा प्रतिनिधित्व बढ्दै गएको र महिलाका मुद्दा पनि सशक्त बनिरहेको अवस्थामा यस्ताखाले सम्मेलनले अझ उल्लेख्यरूपमा कार्य गर्न महिलालाई सहयोग पुग्ने बताउनुभयो।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले सार्क क्षेत्रका धेरै मिल्दाजुल्दा समस्या रहेको र त्यसका निम्ति साझा समाधान खोज्न यो कार्यशालाले महŒवपूर्ण भू्मिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले अझै पनि सार्क क्षेत्रमा विद्यमान आप्रवासन, बालविवाह, मानव बेचविखनलगायतका समस्या संयुक्तरूपमा न्यूनीकरण गर्ने कदम कसरी चाल्न सकिन्छ भन्ने विषयमा छलफल गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा बोल्दै अर्का अतिथि सार्कका माहासचिव अहमद हुसैनले महिला सशक्तीकरण सार्कको एजेन्डाको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले सार्क क्षेत्रममा महिलाको राजनीतिक, सामाजिक तथा नीति निर्माणक्षेत्रमा सहभागिता बढ्दै जानु उल्लेखनीय र प्रशंसनीय रहेको बताउनुभयो।
कार्यक्रममा बोल्दै युनिफिम साउथ एसियाकी पूर्वप्रमुख चाँदनी जोशीले यो सम्मेलन लैंगिकताको यात्राको पुनर्मिलन रहेको र दक्षिण एसियाली महिलाले महिला हिंसाविरुद्ध ठूलो आवाज निकाल्न एकबद्ध हुनुको विकल्प नरहेको बताउनुभयो।
कार्यक्रममा बोल्दै सम्मेलनको सहआयोजक तथा राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले दक्षिण एसियाका राष्ट्रले लैंगिक असमानताको समस्यासँग एकबद्ध भएर सामूहिक कार्य गर्नुपर्ने बताउनुभयो।
यसैगरी सम्मेलनको आयोजक ‘संकल्प’की अध्यक्ष लिली थापाले दक्षिण एसियामा लैंगिक हिंसासम्बन्धी धेरै मुद्दा मिल्ने र केही भने फरक–फरक रुपमा रहेको हुँदा महिला हिंसाका घटना न्यूनीकरणमा सामूहिक प्रयास र अनुभव आदनप्रदान हुन जरुरी रहेको हुँदा सम्मेलनको आवश्यकता परेको बताउनुभयो।











प्रतिक्रिया