अनाथका लागि चित्रकला प्रदर्शनी

0
Shares

हेटौंडा, ९नेस०। मकवानपुरका चित्रकार तथा अधिवक्ता ऋषि केबीको तेस्रो एकल चित्रकला प्रदर्शनी हेटौंडामा शुरू भएको छ। स्टेट भिजन प्रालिको आयोजना तथा एसएस नेटवर्कको सहकार्यमा केबीको समयावाज द भ्वाइस अफ टाइम तेस्रो एकल चित्रकला प्रदर्शनी शुरू भएको हो।

प्रदर्शनीमा चित्रकार केबीले सिर्जना गरेका २८ वटा चित्र राखिएका छन्। प्रदर्शनीपश्चात शुक्रबार ५५ हजारको चित्र बिक्री भएको आयोजक समितिका अध्यक्ष जयराम सुवेदीले जानकारी दिए। कार्यक्रम अनाथ बालबालिकाको शिक्षामा लगानीका लागि सहयोगार्थ सञ्चालन गरिएको आयोजक समितिले जानकारी दिएको छ।

कार्यक्रममा जिल्ला न्यायाधीश स्वीकृति पराजुलीले चित्रको माध्ययमबाट समाजको वास्तविकता नियालेको भन्दै प्रशंसा गरिन्। हस्तकला संघ मकवानपुर अध्यक्ष ज्ञानभक्त लामाले चित्रकला प्रदर्शनी कहिलेकाहीं हुने गरे पनि यसको महŒव रहेको बताए। कार्यक्रममा प्याब्सन मकवानपुर अध्यक्ष अनिल पाण्डे, जिल्ला अदालत बार एसोसिएसन अध्यक्ष ईश्वरी अधिकारी, पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ प्रदेश–३ सहसचिव महेश रेग्मी, सोलिड्यारिटी बोर्डिङ स्कुलकी प्रिन्सिपल रीना आचार्य, अधिवक्ता मदन दाहाललगायतले चित्रकार केबी र उनका रचनाको प्रशंसा गरे।

सोलिड्यारिटी बोर्डिङका विद्यार्थीले नृत्य प्रस्तुत गरेको कार्यक्रममा २५ विद्यालयका १ सय ८० जना विद्यार्थीले चित्रकला कार्यशालामा सहभागिता जनाएका थिए। सन्यासी श्रेष्ठ, श्याम लामा, मनिष योञ्जन, सुमन ब्लोन र ऋषि केबीले प्रशिक्षण दिएका थिए।

चित्रकार केबीको २०५८ सालमा हर्नामाडीमा पहिलो र २०६० मा हेटौंडामा दोस्रो चित्रकला प्रदर्शनी भइसकेको छ। केबीले २०६० मा मकवानपुर प्रतिभा पुरस्कार र उत्कृष्ट युवा पुरस्कार, २०५० मा राष्ट्रिय चित्रकला प्रतियोगितामा दोस्रो पुरस्कार प्राप्त गरेका छन्।