विनोद सिंह विष्ट, बैतडी
लगातारको हिमपातले बैतडी र बझांग र डडेल्धुरामा २ दिनदेखि राजमार्ग अवरुद्ध भएका छन् । मंगलवार बुधवार भएको भारी हिमपातले सडकमा बाक्लो हिउँ जमेकाले दशरथचन्द राजमार्ग, जयपृथ्वी राजमार्ग र भिमदत्त राजमार्ग अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
बैतडीको अनारखोली, खोडपे , डडेल्धुराको भालुमारे, हगुल्टे साहुँखर्क र बझांग देउलेक, बित्थड लगायतका क्षेत्रका सडकका ४ फिटसम्म हिउँ जमेको प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिए । राजमार्ग अवरुद्ध हुँदा सवारी साधन चल्न सकेका छैनन् भने यात्रुहरु बिच बाटोमै रोकिएका छन् । पहाडवाट तराई,तथा तराईवाट पहाड आउने कुनै यात्रु र सवारी साधन बिच बाटोमै रोकएका हुन् ।
अवरुद्ध राजमार्ग सुचारुको लागी बैतडी र डडेल्धुरामा डोजरको सहयताले हिउँ पन्छाउने काम भईरहेको प्रहरीले जनाएको छ । हिउँ पन्छाउन अझै केही घण्टा लाग्ने भएकोले दिउँसोपछी मात्रै राजमार्ग सुचारु हुने प्रहरी नायव उपरिक्षक गिरीको भनाई छ । यसअघि सोमवार राती भएको हिमपातले गर्दा अवरुद्ध भएका राजमार्गहरु बुधवार बिहान मात्रै पुन सञ्चालनमा आएका थिए ।
यसैबिच सोमवार रातीको हावाहुरी र हिमपातले बैतडीमा विगत ४ दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । सोमवार बेलुकाको हावाहुरी र हिमपातले यहाँ विद्युत सेवा अवरुद्ध भएको हो । हावाहुरी र हिमपातले बैतडीको खोडपे र अनारखोली क्षेत्रमा ३३ केभी राष्ट्रिय प्रसारण लाईनमा रहेका तारहरु टुटेकाले विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ ।
लगातार हिमपात र बर्षा भइरहेकाले मर्मत गर्न समस्या भएको जनाएको छ । जिल्लामा विद्युत सेवा अवरुद्घ हुँदा यहाँको नागरिक सञ्चारविहीन भएका छन । भने यहाँ सञ्चालित रेडियो प्रसारणमा समस्या हुनुका साथै अन्य विद्याुतवाट सञ्चालन हुन कुनै कामकाज पनि प्रभावित भएका छन् । हिमपातले अत्यधिक चिसो बढेकोले जनजीवन पनि प्रभावित भएको छ ।











प्रतिक्रिया