नेपाल समाचारपत्र, काठमाडौं
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले बेलायतमा कार्यरत भूतपूर्व सैनिकको पुँजी पलायन रोक्न सरकारले पहल गर्नुपर्ने बताउनुभएको छ।
भूतपूर्व सैनिक कल्याणकारी समिति नेपाल तथा ब्रिटिस गोर्खा नेपाली नागरिकताको निरन्तरता संघर्ष समिति बेलायतले मंगलबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा सभामुख महराले ब्रिटिस गोर्खाले गरेको योगदानको सम्मान गर्नुपर्ने बताउनुभयो। ‘उहाँहरूले बेलायत गएर धेरै श्रम गर्नुभएको छ, त्यसको सम्मान हुनुपर्छ र उहाँहरूले आर्जन गरेको पुँजी पलायन हुन नदिन नेपालमै लगानीको वातावरण बनाउनुपर्छ’ –महराले भन्नुभयो। महराले ब्रिटिस गोर्खाको पक्षमा नेपाल सरकारले अडान लिनुपर्नेमा जोड दिनुभयो। उहाँले संविधानको मर्मलाई मान्दै नागरिकताको निरन्तरताको विषयमा उचित पहल गरिने बताउनुभयो।
संसद्को संसदीय समितिमा नागरिकता विधेयकबारे छलफल भइरहेका बेला ब्रिटिस गोर्खा भूपू सैनिकले नेपाली नागरिकताको निरन्तरता तथा उनीहरूबाट सम्भावित पुँजी पलायनबारे सभामुख, संसदीय समितिका सभापति तथा सांसदलाई जानकारी गराएका हुन्। कार्यक्रममा उनीहरूले आफ्ना सन्तानले पनि नेपाली नागरिकता पाउनुपर्ने माग राखेका थिए। कल्याणकारी समितिका अध्यक्ष यमबहादुर बुढाथोकीले नेपालमै बस्ने आफूहरूको चाहना भएको हुनाले त्यो वातावरण मिलाइदिन सरकारसँग आग्रह गर्नुभएको थियो।
संविधानविद् चन्द्रकान्त ज्ञवालीले सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धिकै आधारमा नेपालीले बेलायतमा सम्मानार्थ नागरिकता पाएको बताउनुभयो। उहाँले भूपू सैनिक र गैरआवासीय नेपाली ९एनआरएन० लाई एकै प्रकारले हेर्न नहुने बताउनुभयो। कार्यक्रममा बालकृष्ण माबुहाङले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षाका लागि सन् १८९६ को सुगौली सन्धिमार्फत नेपाली ब्रिटिस गोर्खामा भर्ती भएका थिए।











प्रतिक्रिया