काठमाडौं, (नेस)
त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आशन्न स्ववियु निर्वाचन तयारी सम्बन्धमा अध्ययन संस्थान र संकायका डीन, निर्देशनालयका निर्देशक, महाशाखा प्रमुख एवं उपत्यकाभित्रका आंगिक क्याम्पसका क्याम्पस प्रमुखसँग छलफल गरेको छ।
शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा डीन, निर्देशक, महाशाखा प्रमुख एवं क्याम्पस प्रमुखबाट निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न र तोकिएको जिम्मेवारी पूरा गर्न स्ववियु निर्वाचन निर्देशिकामा समावेश हुनुपर्ने आचारसंहिताका विषयवस्तुमा छलफल गरी सुझाव प्रस्तुत गरिएका छन्।
कार्यक्रममा त्रिविका उपकुलपति डा। तीर्थराज खनियाँले क्याम्पस प्रमुख एवं विद्यार्थी संघ संगठनसँग निरन्तर छलफलमा रहेर निर्वाचन सम्पन्न गर्ने बताउनुभयो। उहाँले उम्मेदवार हुने उमेर हद अघिल्लो निर्वाचनबाट स्थापित भइसकेकाले यो निर्वाचनलाई नियमित प्रक्रियाको रूपमा सम्पन्न गर्नुपर्ने दायित्व त्रिविका सबै आंगिक क्याम्पसलाई भएको बताउनुभयो।
छलफलबाटै निर्वाचनसम्बन्धी स्पष्टरूपमा विधि र प्रक्रियाको टुंगो लगाएर तोकिएको मितिमा निर्वाचन गर्न त्रिवि सक्षम रहेको बताउनुहुँदै उहाँले त्यसका लागि सम्पूर्ण व्यवस्थापनको तयारीमा जुट्न, मतदाताको नामावलीको टुंगो लगाउन र क्याम्पसभित्र क्रियाशील विद्यार्थी संघ संगठनसँग निरन्तर संवाद गर्न क्याम्पस प्रमुखलाई आग्रह गर्नुभयो। उहाँले दुई वर्षअगाडि निर्वाचन सम्पन्न हुन नसकेका क्याम्पसमा समेत यस वर्ष सहजरूपमा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन उच्च राजनीतिक तहसम्म निरन्तर छलफल गरेर अगाडि बढ्ने धारणा व्यक्त गर्नुभयो।
शिक्षाध्यक्ष प्राडा त्रिपाठीले निर्वाचन प्रक्रियाको तयारी थाल्न त्रिविबाट पहिलो परिपत्र भइसकेको स्मरण गराउनुहुँदै दोस्रो चरणमा यो छलफल चलिरहेको बताउनुभयो। उहाँले अघिल्लो पटक निर्वाचन सम्पन्न गराएको अनुभवका कारण यस पटक अझ सहज ढंगले सबै क्याम्पसमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।
स्ववियु निर्वाचनका लागि क्याम्पस प्रमुखको जिम्मेवारी र क्याम्पसमा गठन हुने निर्वाचन समिति एवं आचारसंहिता अनुगमन उपसमिति समेतलाई बलियो बनाउँदै जिम्मेवारी तोक्ने विषयमा थप छलफल गरेर निर्णय लिइने उहाँले बताउनुभयो।
फागुन १४ गते स्ववियु निर्वाचनको स्थापित मिति भएकाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न विद्यार्थी संघ संगठनबाट समेत सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा क्याम्पस प्रमुखले स्ववियु निर्वाचनका लागि आवश्यक तयारी थाल्ने प्रतिबद्धता व्यक्त गरेका थिए।











प्रतिक्रिया