पहाडमा रुट परमिट नभएका टेम्पो नियन्त्रणमा

0
Shares

विमल विष्ट, डोटी ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले डोटीमा सञ्चालनहुदै आएका तिन पाङ्ग्रे टेम्पो नियन्त्रणमा लिएको छ । तराईको लागि रुटपरमिट लिएर पहाडी जिल्लामा उक्त टेम्पोहरु सञ्चालन हुन थालेपछि आफुहरुले नियन्त्रयामा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख मोहनसिंह धामीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “तराईको रुटपरमिट लिएर पहाडमा टेम्पो चलाउन थालेपछि हामीले नियन्त्रणमा लिएका हौँ, तिन पाङ्ग्रे टेम्पो पहाडमा चलाउने ईजाजत छैन् ।” डोटीको दिपायल,पिपल्ला,राजपुर,कालागाढ तथा पच्नाली क्षेत्रमा केही महिना यतादेखी तिन पाङ्ग्रे टेम्पो सञ्चालनहुदै आएका थिए ।

यहाँ सञ्चालनहुने तिन पाङ्ग्रे टेम्पो जिल्ला ट्राफिक प्रहरीले आफनो नियन्त्रणमा लिएर कार्यालयमा खडा गरेको छ । डोटीमा सञ्चालनहुदै आएका टेम्पो ७ दिन भित्रमा कैलाली पठाउनु भन्ने क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाको निर्देशन पछि टेम्पो नियन्त्रणमा लिएर कैलाली पठाउने तयारी भईरहेको दिपायलका ट्राफिक प्रहरी प्रमुख धामीले जानकारी दिनुभयो ।

पहाडी क्षेत्रमा तिन पाङ्ग्रे टेम्पो सञ्चालनको अनुमती नभएकोले टेम्पो चालकले ट्रकमा टेम्पो लोडगरी दिपायल ल्याएर चलाउदै आएका थिए । ट्राफिक प्रहरीले टेम्पो सञ्चालनमा रोक लगाएपछि यहाँका स्थानियलाई आवत जावतमा समस्या भएको कुमालीकोटकी स्थानिय मालती कठायतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भनेको बेला गाडी पाईदैन थियो,टेम्पोले सुबिधा दिएको थियो, त्यहि पनि ट्राफिकले हटाई दियो आवत जावतमा समस्या भएको छ ।”