रोकिँदै सल्लाको खोटो दोहन

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा
धेरै अगाडिदेखि निर्वाधरुपमा हुँदै आएको सल्लाको खोटो दोहन तथा अवैध निकासीप्रति मकवानपुरको गाउँपालिकाले चासो देखाएको छ । गाउँपालिकासँग समन्वय नगरी अनधिकृतरुपमा खोटो संकलन गरिएको भन्दै मकवानपुरको कैलाश गाउँपालिकाले प्रहरीसँगको समन्वयमा ट्रकलाई नियन्त्रणमा लिएको हो ।

ना. ५ ख ७७४ नम्बर ट्रक भार्ता प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । कैलाश गाउँपालिका–३, खिर्कीबाट सल्लाको खोटो लोड गरी हेटौंडा आउने तयारी गरिरहेको अबस्थामा ट्रक नियन्त्रणमा लिइएको जनाइएको छ ।

केही वर्षदेखि गाउँपालिकाको वडा–१, २, ३ र ८ मा नियमितरुपमा खोटो संकलन हुँदै आएको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावीरुपमा खोटो संकलन भइरहेकोमा त्यसलाई व्यबस्थित गर्ने तयारी गाउँपालिकाले गरेको अध्यक्ष टंकबहादुर मुक्तानले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले गाउँसभाबाट पारित आर्थिक ऐन, २०७५ अनुसार खोटो संकलनका लागि वैधानिक व्यबस्था गरेको छ । तर, खोटो संकलक फर्म वा व्यक्तिले सूचीकरणबिना खोटो संकलन गर्ने गरेको पाइएको छ । हालसम्म कुनै संकलकले गाउँपालिकामा फर्म सूचीकरण नगरेको पाइएपछि ट्रकसहित खोटो नियन्त्रणमा लिइएको अध्यक्ष मुक्तानले बताउनुभयो ।

आर्थिक ऐनबमोजिम खोटो तथा जडीबुटी संकलन गर्न पाउने कानुनी व्यबस्था छ । जसअनुसार गाउँपालिकालाई प्रतिकेजी ५० रुपियाँ राजस्व बुझाउनुपर्ने प्रावधान छ ।

साना रुखमा समेत खोटो संकलनका लागि घाउ बनाएर ट्यांकीहरु झुण्ड्याइँदा सल्लाका बिरुवालाई असर परेको भन्दै उक्त कार्यको विरोध हुँदै आएको छ । रुखमा जथाभावी चोट पारेर अवैधरुपमा खोटो संकलन गर्नाले बोट धमाधम मर्न थालेका छन् ।

यस कार्यले बन क्षेत्र जोखिममा परेको स्थानीयको भनाइ छ । अवैधरुपमा हुने निकासीलाई रोक्न नसकिएको अवस्थामा गाउँपालिकाले पहल थालेको हो । बारम्बार एउटै रुखबाट खोटो संकलन गर्ने कार्यले रुख मर्न थालेका छन् । सामुदायिक बनका पदाधिकारी र ठेकेदारको मिलोमतोमा खोटो संकलन गर्दा हाल सल्लाका रुख सुक्न थालेका छन् ।

प्राविधिक हिसाबले रुखको एक भागबाट मात्र खोटो निकाल्नुपर्नेमा त्यहाँ बोटको चारैदिशा छेकेर खोटो निकालिएका छन् । खोटो निकाल्ने जमिनबाट एक मिटर ३० सेन्टिमिटरमाथि ब्यास भएका रुखबाट मात्र खोटो निकाल्नुपर्ने हुन्छ । रुखमा ३६ इञ्चभन्दा कम खोप्नुपर्ने हुन्छ ।

तर, बढी खोटो निकाल्ने लोभमा ठूलो प्वाल बनाउने गरिएको छ । खोटो संकलनयोग्य रुखमध्ये प्रतिहेक्टरमा पाँच वटा स्वस्थ्य रुख छाड्नुपर्ने हुन्छ । तर, खोटो आउने सबै रुखबाट खोटो निकालिँदै आइएको छ । खोटो निकालेपछि रुखको चोटमा गोबर र माटोले प्लाष्टर गर्नुपर्ने भए पनि त्यतिकै छाड्ने गरिएकाले रुख मर्दै गएको स्थानीयले बताएका छन् ।

यसका साथै रुखमा एसिडल नामक रासायनिक पदार्थसमेत प्रयोग गरेर खोटो तान्ने गरिएको छ । यस क्षेत्रमा भारतबाट आएका तस्करहरुले जथाभावी खोटो संलकन गर्ने गरेको स्थानीयको भनाइ छ । तस्करहरुसँग सामुदायिक बन समूहका पदाधिकारीको मिलेमतो रहेको स्थानीयको दाबी छ । खोटो संकलनपछि कार्पेन तेल बनाएर रंगमा मिसाउन प्रयोग गरिने बताइएको छ ।