गणेश घिमिरे, इलाम
पूर्वी इलामको सुर्योदय नगरपालिकालाई प्रदेश नम्बर १ कै पर्यटकीय नगर घोषणा गरिएको छ । आइतबार नगरको चौथो नगरसभाको उद्घाटनका क्रममा प्रदेश एकका मुख्यमन्त्रि शेरधन राईले घोषणा गरे ।
सो क्रममा मुख्यमन्त्रि राईले प्रदेश सरकारले विकास र संबृद्धिका आधारमा कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको र यस नगरपालिकालाई पर्यटकीय नगरको रुपमा घोषणा गरेको जनाए । सुर्योदय नगरपालिकालाई अझै व्यवस्थित रुपमा सजाएर भएपनि नमूना नगरको रुपमा विकास गर्न सकिने उनले जनाए । ‘अहिलेको जिम्मेवारी टालटुल पारेर पुरा गर्ने मात्र होइन’ उनले भने ‘सुचना प्रविधिको युगमा इन्टरनेट पहुँचलाई भरपर्दो र द्रुत गतिको बनाउन स्थानीय सरकार लाग्नुपर्छ ।’ प्रदेश सरकारले आगामी हिउँदे अधिवेसनले प्रदेश १ लाई हरियाली प्रदेशको रुपमा घोषणा गर्ने र प्रदेशलाई आत्मनिर्भर बनाउने अभियान चलाउने उद्घोष गरे ।
सभामा सुर्योदय नगरका प्रमुख रणबहादुर राईले सुर्योदयन गरपालिकाले नगरलाई अनलाईन प्रबिधिमा संचालन गरिएको र इ प्रविधिलाई विद्यालय तहसम्म पुरयाएको बताए । उनले नगरको प्रोफाइल , एकिकृत पाश्र्वचित्र बनिसकेकोले एकिकृत आवधिक गुरुयोजना बनाएर स्थानीय जनताका आवश्यक्ता अनुसार अगाडि बढ्ने जनाए ।
सभा उद्घाटनका क्रममा नगरका उत्कृष्ट कर्मचारी कार्यालय सहायक बाल कुमार गिरीलाई सम्मान सहित नगद पाँचहजार रुपैंयाँले पुरस्कृत समेत गरेको छ । सुर्योदय नगरपालिका अन्तर्गत सवै तहमा अव प्रयोग हुने लेटरप्याडमा पर्यटकीय नगर समेत लेख्ने भएको छ ।











प्रतिक्रिया