तीन वर्षमा साढे १२ हजार किशोरीको उद्धार, बेचबिखनविरुद्ध ९ मुद्दा दर्ता

0
Shares

सीताराम चौधरी, कपिलवस्तु
मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध सीमाक्षेत्रमा कार्यरत केआई नेपालले विगत तीन वर्षमा १२ हजार ४सय ६७ किशोरीको उद्धार गरेको छ ।

केआई नेपालले तीन वर्षमा ती किशोरीहरुको उद्धार गरेको प्रतिवेदन सार्वजनिक गरेको हो । संस्थाले ३ सय ६१ किशोरीलाई उद्धार पश्चात परिवारमा पुनर्मिलन गराएको जिल्ला संयोजक केसर विश्वकर्माले जानकारी दिनुभयो । यस्तै २सय २६ जनालाई आपतकालिन सुरक्षित आवास सेवा प्रदान गरिएको विश्वकर्माले बताउनुभयो । उद्धार गरिएकामध्ये ३० जनालाई चितवनस्थित सुरक्षित आवास गृहमा सीप विकास तालिममा सहभागी गराएका छौं –उहाँले भन्नुभयो ।

संस्थाले मानव बेचबिखन सम्बन्धी ९ वटा मुद्धाका ११ विचौलिया विरुद्ध किटानी जाहेरी दिएको बताइएको छ । मानव बेचबिखन तथा ओसारपसारमा परेका १४ प्रभावितले किटानी जाहेरी दिएका हुन् । जाहेरी दिएको मुद्धामध्ये जिल्ला अदालतले ७ वटा मुद्धाका विचौलियालाई १देखि १० वर्ष सम्मको जेल सजायको फैसला गरिसकेको संयोजक विश्वकर्माको भनाई छ ।

विगत १२ वर्षदेखि कपिलवस्तु जिल्लाको कृष्णनगर नाकालाई केन्द्रविन्दु बनाई मानव बेचबिखन विरुद्ध सीमा निगरानी, सूचना सम्प्रेषण, परामर्श तथा उद्धारका कार्य गर्दै आएको संयोजक विश्वकर्माले जनाउनुभयो ।

तीन वर्षको तथ्यांकका आधारमा १५ देखि २५ वर्ष उमेर समूहका महिला तथा किशोरीहरु बेचबिखनको उच्च जोखिममा रहेको पाइएको उहाँले बताउनुभयो । आर्थिक अभाव, शिक्षाबाट बञ्चित, बढ्दो बेरोजगारी, प्रविधिको दुरुपयोग तथा बेचबिखनको बदलिँदो स्वरुपका कारण महिला तथा किशोरीहरु बेचबिखनको उच्च जोखिममा रहेको विश्वकर्माले जनाउनुभयो ।

केआई नेपालले मानव बेचबिखन तथा लैङ्गिक हिंसाका घटनामा कमी ल्याउन विभिन्न कार्यक्रम गर्दै आएको छ । समुदाय विकास कार्यक्रम अन्तर्गत संस्थाले किशोरीहरुलाई सक्षम तथा आत्मनिर्भर बनाउन समुदाय स्तरमा सचेतनामूलक र आयमूलक कार्यक्रम संचालन गर्दै आएको हो ।