बाल सञ्जाल र वडा अध्यक्षले मण्डप बनाउँनै नदिई रोके बाल विवाह

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे
१६ बर्षमै प्रेम पछि मागि विवाहको तयारी भएपछि बाल सञ्जाल र जनप्रतिनिधिको दबाब र प्रयासमा रोकिएको छ ।

माघ ७ गते बाजागाजा सहित विवाहको मण्डप र भोज समेत तयारी भईसकेको अवस्थामा विवाह रोकिएको हो । पनौती नगरपालिका १२ भुमेडाँडा स्थित १६ बर्षिया सुस्मा हुमागाईले उदउपुर गाईघाट घर भएका २३ वर्षिय पेशलकुमार श्रेष्ठसँग प्रेम गरेकी थिईन् । प्रेम अघि बढ्दै जाँदा केटा पक्षबाट विवाहको प्रस्ताव आएको थियो । भागि जान नमानेपछि सुस्माले विवाहका लागि जन्ति सहित ल्याउन भनेकी थिईन् । परिवारको सल्लाह अनुसार दुबै पक्षले विवाह गर्न राजी भयो । त्योे कुरा स्थानीय स्वयंसेवीहरुले जानकारी पाए । जानकारी लगत्तै वडा अध्यक्ष इश्वर जंगमले हालेमालो बालसञ्जाल मार्फत विवाह गर्न नहुने अनुरोध घरमै पठाए ।

केटी पक्ष मान्न तयार भएन । आफन्त र गाउँका सबै ब्यक्तिहरुलाई विवाहको निम्तो वितरण गरिएको थियो । भोजका लागि सामान खरिद भई सकेको थियो । माघ ६ गते साँझ वडा अध्यक्ष सहित जनप्रतिनिधि बालक्लवका पदाधिकारीहरु र स्थानीयहरु पुगेर सम्झाउँदा परिवार मान्न तयार भएन ।

केटा र केटीलाई एकै स्थानमा राखेर सम्झाउँदा पनि दुबैले मर्ने सम्मको धम्कि दिए । दुबै जना मरिदिन्छौ कसले लिन्छ जिम्मा ? उनिहरुको धम्कि पूर्ण भनाई पछि टोली फर्कियो । माघ ७ गते विहान प्रहरीकोमा उजुरी प¥यो । बाल विवाह हुँदैछ रोकि पाउँ ? परिवार अझै मान्न तयार भएन । प्रहरीले केटा केटी र उनका आफन्तलाई समेत प्रहरी चौकी पनौतीमा ल्यायो र छलफल गरायो । बालसञ्जाल, जनप्रतिनिधि र प्रहरी समेतको सहभागितामा दुबै पक्ष छलफल भएपछि अन्ततः बालविवाह रोक्ने सहमति भयो ।

केटा केहि महिना देखि सोहि क्षेत्रमा डकर्मी काम गर्दै आएका थिए । बालिका अघिल्लो वर्ष कक्षा ९ मा बालप्रकाश मावीमा अनुर्तिण भएपछि विद्यालय जान छाडेकी थिईन् । विवाहका लागि एक सय जना जन्ति भकुण्डेसम्म आईसकेको बताउँदै केटाले मानेका थिएनन् । २० वर्ष नपुग्दासम्म विवाह नगर्ने तर २० वर्ष पुगेपछि दुबै जनाको विवाह गराईदिने बचन पछि दुबै जनाले सहमति जनाएको वडा अध्यक्ष इश्वर जंगले जानकारी दिए ।

बाल मैत्री वडाका रुपमा प्रदेशको पहिलो वडा पनौती १२ भुमेडाँडा हो । उक्त वडामा बालमैत्री गतिविधि संचालन भईरहेको छ । सोहि वडामा हुन लागेको बाल विवाहलाई रोकेर उदाहरणीय कार्य गरेको स्थानीयहरुले बताएका छन् । बालसञ्जाल, जनप्रतिनिधि र प्रहरीलाई अभियानमा साथ दिने स्थानीयले प्रण गरेका छन् ।