चारवटा खोला १५ करोडबढीमा ठेक्का

0
Shares

नेपाल समाचारपत्र, बाँके
बाँकेमा चार वटा खोलाको नदीजन्य पदार्थ संकलनका लागि १५ करोड बढीमा ठेक्का दिइएको छ । चार वटा ठेकेदार कम्पनीले नदीजन्य पदार्थको ठेक्का पाएका हुन् । राप्तीसोनारी गाउँपालिकाले आइतबार १५ करोड ३५ लाख २८ हजार ७ सय ८३ रुपैपाको ठेक्का खोलेको हो ।
असारदेखि रोकिएको नदीजन्य पदार्थको कारोबार ठेक्कासँगै खुल्ने भएको छ । नेपालगञ्जका दुई ठाउँ र राप्तीसोनारी गाउँपालिकामा गरी ८६ वटा फर्म दर्ता भएका थिए । तीमध्ये सुघन्ढा विल्डर्सले राप्ती नदीको शमशेरगञ्ज, आलीनगर र ढलैयाको नदीजन्य पदार्थ ढुंगा, गिटी, ग्राभेल र बालुवा संकलन गर्ने ठेक्का पाएको छ । उसले यो ठेक्का ६ करोड ५४ लाख २८ हजार ७ सय ८६ मा पाएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश केसीले जानकारी दिनुभयो ।

काली गण्डकी निर्माण सेवाले ३ करोड २१ लाखमा मुगुवा खोला, डिसी कन्स्ट्रक्सनले १ करोड ६० लाखमा झिझरी खोला, अनमोल एण्ड के कन्स्ट्रक्सनले ३ करोड ८८ लाख ९९ हजार ९ सय ९९ मा परुवा खोलाको नदीजन्य पदार्थ संकलनको ठेक्का पाएको छ ।
पाँच वटा खोलाको ठेक्का खोल्ने भनिएकोमा एउटा बाँके राष्ट्रिय निकुञ्जमा पर्ने भन्दै रद्द गरिएको छ । ठेक्का पाएकासँग छिट्टै सम्झौता गरेर लामो समयदेखि रोकिएको नदीजन्य पदार्थको कारोबार सञ्चालन गर्ने गाउँपालिकाले निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले बताउनुभयो ।

ठेक्काका लागि एक महिना अघि सूचनामार्फत ठेक्का आव्हान गरिएको थियो । आइतबार ठेक्का खोल्ने क्रममा केही युवाहरुले होहल्ला गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय, कोहलपुरका इन्चार्ज डिएसपी रमेशबहादुर सिंहका अनुसार, नदीजन्य पदार्थको टेण्डरमा गुण्डागर्दी गर्ने, होहल्ला गर्ने, धम्की दिने १३ जनालाई नियन्त्रणमा लिइएको छ ।
तत्कालिन जिल्ला विकास समितिले हेर्दै आएको नदीजन्य पदार्थको ठेक्कापट्टा पहिलो पटक गाउँपालिकाले स्वामित्व लिएको छ ।