पर्वतका धेरै सडक कालोपत्रे हुने चरणमा

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत
पर्वतको दक्षिणी क्षेत्रका लागि ‘जीवन रेखा’ फलेबासको लमायखोला देखि महाशिलाको लुंखु सम्म जोड्ने सडकमा अहिले सडक चाक्लो बनाउने, नाली खन्ने तथा टेवा पर्खाल लगाउने काम धमाधम भैरहेको छ ।

फलेबास नगरपालिकाको लमाय देखि महाशिलाको लुंखु सम्म पुग्ने १३ किलोमिटर लामो सडक कालोपत्रे गर्नका लागि धमाधम काम हुन थालेको हो । सडक चाक्लो बनाउने र नाली तथा टेवा पर्खाल लगाउने काम सहित सडकको १५ प्रतिशत भन्दा बढी काम भैरहेको छ ।
लमायखोला–लुंखु मात्रै होइन कुस्मा नगरपालिकाको अर्मादी देखि जलजला गाउँपालिकाको बनौं जोड्ने सडकमा पनि अहिले युद्धस्तरमा काम भैरहेको छ । असारमा ठेक्का सम्झौता भएका यी सडकमा भदौ पछि कामले पुरै गति लिएको छ । अर्मादी –बनौ सडकमा त अहिले २० प्रतिशत भन्दा बढी काम भैसकेको छ ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआईपी) मार्फत कालोपत्रेका लागि काम भइरहेको छ । अर्मादी–बनौ र लमायखोला–लुंखु सडक ६१ करोड ६० लाख रुपैंयाको लागतमा कालोपत्रेको काम भैरहेको आरसीआईपीका पर्वत प्रमुख जगदीश शर्माले बताए । ‘अहिले काम सन्तोषजनक रुपमा भैरहेको छ’ उनले भने ‘यही गतिमा काम गर्दै जाने हो भने ठेक्का सम्झौता अवधी भित्रै काम सम्पन्न हुन सक्छ’ अर्मादी – बनौ खण्डमा काम गर्न सहज भएपनि लमायखोला –लुंखु खण्डमा निर्माण सामाग्रीको अभाब भएको छ । स्थानिय खोलामा ढुंगा निकाल्न नदिएपछि ठेकेदारले ढुंगाकै अभाबमा काम चाहे जति छिटो सक्न कठिनाई भैरहेको बताएका छन । स्थानिय तह र ब्यक्ति संग समेत समन्वय गरेर निर्माण सामाग्री सहज रुपमा उपलब्ध गराउने प्रयास भैरहको प्रमुख शर्माले बताए ।

यसबाहेक लुंखु–हुवास १५ किमि पनि कालोपत्रेको चरणमा छ । आरसीआइपीले आगामी वर्षदेखि कलोपत्रे हुनेगरी ७ वटा सडकको विस्तृत योजना सर्वे भइरहेको छ । ‘आगामी वर्ष कालोपत्रे गर्नेगरी सातवटा सडकको डीपीआर बनाउँदै छौं,’ प्रमुख शर्माले भने, ‘डीपीआर तयार गरेपछि ती सडक आगामी वर्षदेखि कालोपत्रे सुरु हुनेछन् ।’ मिलचोक–सालिजा, पातीचौर–बाजुङ–क्याङ, दोबिल्ला–गँगटे–आर्थर, जैमिनि–खानीगाउँ–कार्कीनेटा परेका छन् । त्यस्तै लमाय–लिमिठाना–ठानामौला–थापाठाना, त्रिवेणी–टकलाक–सिंगारकोष र रतिखोला–दराक–चित्रेको आगामी वर्षदेखि सुरु गर्ने लक्ष्यका साथ सयै वर्ष डीपीआर तयार गर्नका लागि छनोट भएको शर्माले जानकारी दिए ।