विनोद सिंह विष्ट, बैतडी ।
बैतडी सदरमुकाममा केही महीनादेखि बिग्रिएका सडक सौर्य बत्ती दशरथचन्द नगरपालिकाले मर्मत गरेको छ ।
शाहिलेकदेखि गढीसम्म विभिन्न स्थानमा बिग्रीएका ९ वटा सडक सौर्य बत्ती मर्मत गरिएका दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दले जानकारी दिनुभयो ।
सौर्य बत्ती मर्मतका लागी २ लाख खर्च भएको उहाँले बताउनुभयो । चिसोका कारण ब्याट्री र चार्ज कन्ट्रोलरको कनेक्सन तार छुटेकाले ६ महिनादेखि सौर्यबत्ती बिग्रीएका थिए ।
सौर्य बत्ती मर्मतपछी उक्त क्षेत्रमा रातीको समयमा उज्यालो भएको छ ।
दशरथचन्द नगवरपालिकाले नगरक्षेत्रमा रातीको समयमा सडकमा अध्यारो नहोस र आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुगोस भन्ने हेतुले २ बर्ष अगाडी सौर्य सडकबत्ती जडान गरेको थियो ।
यसैबिच दशरथचन्द नगरपालिकाले नगरक्षेत्रमा ५ दर्जन बढी सडक सौर्यबत्ती जडान गरिएका छन् । आर्थिक बर्ष २०७२÷०७३ देखि हालसम्म ६७ वटा सडक सौर्यबत्ती जडान गरिएका नगरपालिकाकाले जनाएको छ ।
सदरमुकाम क्षेत्रका बजारहरु गढी, गोठलापानी, शाहिलेकमा गत बर्षनै सौर्यबत्ती जडान गरिएका थिए भने देहिमाण्डौ बजार र त्रिपुरा सुन्दरी क्षेत्रमा चालु आर्थिक बर्षमा सौर्य बत्ती जडानको काम भएको हो ।
दशरथचन्द नगरपालिकाले करिब ७० लाखको लगानीमा उक्त मात्रामा सडक सौर्य बत्ती जडान गरेको हो ।
लोडसेडिङको समस्या नहुने र वैकल्पिक उर्जाका श्रोतहरुलाई प्रयोग गर्ने उद्देश्यका साथ नगरपालिकाले सडक सौर्यबत्ती जडान गरेको नगरप्रमुख नरेन्द्र सिंह थापाले बताउनुभयो । अगामी दिनहरुमा सडक सौर्यबत्ती जडान कार्य नगरक्षेत्रका अन्य ठाउँमा पनि जडान गरिने बताईएको छ ।
सडक सौर्यबत्ती जडानले नगरक्षेत्रका बासिन्दालाई सजिलो भएको छ ।











प्रतिक्रिया