विमल बिष्ट, डोटी ।
डोटीका स्थानियतहमा बैंक नहुँदा सरकारी कामकाजमा समस्या हुन थालेको छ । जिल्लाका कुल ९ स्थानियतह मध्ये दिपायल सिलगढी नगरपालिका बाहेक अन्य ८ वटा स्थानिय तहमा हाल सम्मपनि बैंक पुग्न सकेका छैनन् । जिल्लाका बडीकेदार,बोगटान,सायल,पुर्विचौकी,आर्दश,केआईसिंह,जोरायल गाउँपालिका तथा शिखर नगरपालिकामा हाल सम्म बैंक स्थापना हुन सकेका छैनन् ।
स्थानियतहमा बैंक स्थापना नहुँदा सामान्य सरकारी कामकाजका लागि जिल्ला सदरमुकाम सिलगढी तथा कैलाली जानु पर्ने बाध्यता रहेको बडीकेदार गाउँपालिका बिपिनगरका स्थानिय रोजबहादुर कलेलले बताउनुभयो । उहाँले भन्नुभयो,‘गाउँपालिकामा बैंक छैनन्,सामान्य राजस्व बुझाउन पनि दुई दिन लगाएर जिल्ला सदरमुकाम सिलगढी वा कैलाली जानु परेको छ ।’
राज्यको पुनसंरचना पश्चात नेपाल सरकारले मुलुक भरका सबै स्थानीय तहमा बैकिङ्गीक तथा वित्तीय संस्थाहरु सन्चालनमा ल्याउने भनी निर्णय गरेको भए पनि यहाँका स्थानियतहमा बैकिङ्गीक सेवा सुचारु नहुदा स्थानियले सास्ती खेप्दै आएका छन् । सरकारले नेपाल राष्ट्र बैंकलाई सबै स्थानिय तहहरुमा बैकिङ्ग सेवा सुरु गर्ने निर्देशन दिएको भए पनि ग्रामिण क्षेत्रहरुमा सरकारी तथा निजि बैंकले हाल सम्म सेवा सुरु नगर्दा यहाँ सेवाग्रही मर्कामा परेका हुन् ।
स्थानियतहमा बैकिङ्ग सेवा प्रभाह नहुँदा शिक्षक, कर्मचारी, व्यापारी मात्र होईन गाउँपालिकाका कामकाज समेत प्रभावित बन्दै गएको जोरायल गाँउपालिका ५ गड्सेराका वडाअध्यक्ष ध्वजबहादुर देउवाले बताउनुभयो । उहाँले भन्नुभयो,‘स्थानियतहमा बैंक नहुँदा हामीलाई मात्रै होईन कर्मचारीलाई समेत तलब खानकालागि सास्ति हुने गरेको छ ।’
यहाँका स्थानियतहका गाँउमा आर्थिक कारोबार नहुने भएपछि स्थानियहरु अहिले पनि जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल लगायतका क्षेत्रमा गई सेवा लिन बाध्य भएको केआईसिंह गाउँपालिका ५ का स्थानिय चेतराज भट्टले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘घर नजिकै गाउँपालिकाको कार्यालय छ,बैंक छैन्, सामान्य कामका लागि फेरी पनि जिल्ला सदरमुकाम जानु परेको छ,के सुबिधा भयो भन्नु ।’ उता जिल्ला सदरमुकाम स्थित राष्ट्रिय बाणिज्य बैंकले स्थानियतहमा बैंक स्थापना गर्ने निती र निर्देशन भएपनि शुरक्षाका कारण बिस्तार गर्न नसकिएको जनाएको छ ।











प्रतिक्रिया