नेपाल समाचारपत्र, डोटी
डोटीको केआईसिंह गाउँपालिका–७ स्थित भूमिराजमाण्डौंको सलेनामा पहिलो पटक शिशु स्याहार केन्द्रको स्थापना गरिएको छ । ग्रामीण महिलाहरुको कार्यबोझमा कमी ल्याउने उद्देश्यका साथ शिशु स्याहार केन्द्रको स्थापना गरिएको हो ।
उक्त शिशु स्याहार केन्द्र एक्सन एड नेपालको सहयोगमा सम विकास केन्द्र (ईडीसी) नेपाल, डोटीद्वारा सञ्चालित ‘द महिला नेटवर्क परियोजना’ र के.आई.सिंह गाउँपालिका ७ नंं वडा कार्यालयको संयुक्त लगानीमा निर्माण गरिएको सम बिकास केन्द्र (ईडीसी) नेपाल डोटीले जनाएको छ ।
के.आई.सिंह गाउँपालिका वडा नंं. ७ मा रहेको लाटाकलारै आधारभूत विद्यालय संगै रहेको जमीनमा सम बिकास केन्द्र डोटीको ६ लाख ३८ हजार १ सय ५५ र उक्त वडाको २ लाख गरी जम्मा ८ लाख ३८ हजार १ सय ५५ रुपैयाँ लगानीमा केन्द्रको २ कोठे भवन निर्माण गरि कक्षा सञ्चालन भइसकेको ७ नंं वडाका अध्यक्ष हर्कबहादुर बिष्टले जानकारी दिनुभयो ।
तीन वर्षदेखि ५ वर्ष मुनिका वालबालिकाहरुको स्याहार तथा उनिहरुको सिकाई ज्ञान अभिबृद्धि गर्न र ति वालबालिकाका आमाहरुको कार्यबोझमा कमि ल्याइ उनिहरुलाई उत्पादनमुलक कार्यमा संलग्न गराउन शिशु स्याहार केन्द्र स्थापना गरिएको सम बिकास केन्द्र डोटीका कार्यक्रम प्रबन्धक महेश टेलरले बताउनुभयो ।
उक्त केन्द्रमा हाल ३० जना वालबालिकाहरु भर्ना भई कक्षा सञ्चालन भईसकेको लाटाकलारै आधारभूत विद्यालयका प्रधानाध्यापक गगन बलायरले बताउनुभयो । सो वडाका कोटीगाउँ, बलायर गाउँ र थलीका दलित, विपन्न परिवारका बालबालिकाहरुलाई लक्षित गरी स्थापित केन्द्रको औपचारिक उदघाटन बाँकी रहेको र उद्घाटन पश्चात सो भवन वडा कार्यालयमार्फत समुदायमा हस्तान्तरण गरिने र केन्द्र संचालनको जिम्मेवारी लाटाकलारै विद्यालयलाई दिइने बताईएको छ ।
उक्त बिद्यालय डोटीमा नर्सरीदेखि कक्षा ५ सम्म सबै कक्षामा अंग्रजी माध्यमबाट पढाई हुने एक मात्र सामुदायिक विद्यालय हो । साथै विद्यालयमा कक्षा १ देखि नै कम्प्युटर शिक्षा पढाइ हुने गर्दछ । उक्त शिशु स्याहार केन्द्रको ब्यवस्थापनको जिम्मा सम बिकास केन्द्रले गर्ने बताईएको छ ।
तत्पश्चात सम्बन्धीत वडा, समुदाय, विद्यालयको सहकार्यमा केन्द्र संचालन र ब्यवस्थापन गरिने छ । सन् २०२० को अगष्ट महिनासम्म वालवालिकाहरुको बसाई, मनोरञ्जन, शैक्षिक वातावरण तथा खाजा व्यवस्थापन र दुईजना सहयोगी कार्यकर्ताको व्यवस्थापनको जिम्मेवारी सम बिकास केन्द्र डोटीले गर्ने सो संस्थाका कार्यक्रम प्रबन्धक महेश टेलरले बताउनु भयो ।











प्रतिक्रिया