मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा नयाँ विषयको पढाइ

0
Shares

प्रकाश पन्त, वीरेन्द्रनगर
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा ‘लोकवार्ता र संस्कृति अध्ययन’ सम्वन्धी नयाँ विषयको पढाई संचालन भएको छ । नयाँ विषयमा नेपाली सभ्यता, संस्कृति, कला, साहित्य, लेखन कला, जडिवुटी, तन्त्रमन्त्र, पर्यटन, पुरातात्किलगायतका विषयबस्तु पढाई हुनेछन् ।

नेपालको परम्परागत संस्कृति र संस्कारको संरक्षण गदै पुस्ताहस्तान्तरण गर्ने लक्ष्यका साथ यो विषयको पढाई संचालन गरिएको विश्वविद्यालयले बताएको छ ।

मानविक तथा सामाजिकशास्त्र संकायअन्तर्गत स्नातकोत्तर तहका पढाई संचालन भएको मानविकी तथा सामाजिकशास्त्र संकायका डिन खोपीराम लम्सालले बताए । उनले आउने फागुन महिनावाट पढाई संचालन गर्नको लागि अहिले आवेदन खुला गरिएको जानकारी दिए ।

यसमा नेपाली समाजको भाषा, भेषभुषा, कला संस्कृति, रहनसहन, साहित्यजस्ता कुराहरु समेटिएको छ । ढिकी, जाँतो, कोल जस्ता नेपालीले परम्परागत रुपमा प्रयोग गदै आएका बस्तुहरुलाई पनि अध्ययनको विषय बनाइएको छ । यसको अध्ययनले मेटिदै जान थालेको नेपाली समाजको पहिचान जोगिने अपेक्षा विश्वविद्यालयको छ । एकदमै रुचीपूर्ण विषय भएकोले नेपालको संस्कृतिलाई बुझ्न र त्यसको संरक्षण गर्न सहयोग पुग्ने डिन लम्सालले बताए ।

नेपालमै पहिलो पटक मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा यसको पढाई सुरु भएको हो । यसअघि त्रिभूवन विश्वविद्यालयले पढाई संचालन गर्न खोजेपनि नसकेको बताएको छ । जुनसुकै विषयमा स्नातक गरेका व्यक्तिले यो विषय पढन् पाउने डिन लम्सालले जानकारी दिए । बढी व्यवहारिक अभ्यास गर्नु पर्ने भएकोले विश्वविद्यालयमा पढाई हुने अरु विषयभन्दा बढी खर्चिलो हुने पनि उनले बताए । स्नातकोत्तर तहपछि त्यसभन्दा मुनीका तहमा पनि यसको पढाई संचालन गर्ने योजनामा विश्वविद्यालय रहेको छ ।