हिक्मत नेपाली, दैलेख
बादी समुदायसँगै अन्य समुदायको बसोबास रहेको दैलेख सदरमुकाम स्थित नारायण नगरपालिका–१ नमूना बस्तीका बालबालिकाले विपन्न बालबालिकाका लागि छात्रबृत्ति उपलब्ध गराउनुपर्ने माग राखेका छन् । सोसेक नमुना बाल चौतारीद्वारा शनिबार बस्तीमा आयोजित नमूना बस्तीका बालबालिकासँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा उनिहरुले यस्तो माग राखेका हुन् ।
बस्तीमा संचालित बाल चौतारीको आवश्यकताहरुमा उनिहरुले समुदायका विपन्न बालबालिकाहरुलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने स्थानीय सरकारसँग माग राखेका हुन् । गत कात्तिक महिना देखि उक्त बस्तीमा सोसेक नमूना बाल चौतारी संचालित छ ।
आर्थिक समस्याका कारण कतिपय बालबालिकाहरु विद्यालय जानबाट बञ्चित भएको भन्दै बालबालिकाको विद्यालय शिक्षामा निरन्तरताका लागि छात्रबृति उपलब्ध गराउनुपर्ने माग राखेका हुन् । यसका अलवा बालबालिकाले बस्तीमा रहेको प्रारम्भिक बाल विकास केन्द्रको भवन मर्मत तथा पुनर्निर्माण गर्न नारायण नगरपालिकासँग आग्रह गरेका छन् ।
बस्तीका बालबालिकाको आवश्यकताबारे जानकारी गराउँदै बाल चौतारीका पूर्णिमा बुढामगरले बाल चौतारीलाई खेलकुद र मनोरञ्जनका सामग्रीहरु माग गरिन् । उनले सरसफाईका सामग्री, हरेक हप्ताको शनिवार संचालन हुने बाल चौतारीमा हुने क्रियाकलापमा पुरस्कारको व्यवस्था हुनुपर्ने, कार्पेट पिफर्मको व्यवस्था हुनुपर्ने बताइन् ।
ति बालबालिकाहरुले नियमित कक्षा बाहेकका अतिरिक्त थप कक्षा संचालनका लागि सहयोग गर्न नारायण नगरपालिकासँग आग्रह गरेका छन् । उक्त बस्तीमा प्रारम्भिक बाल विकास केन्द्र संचालन भए पनि अहिले बन्द छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले समुदायमा संचालित बाल चौतारीले बालबालिकाको व्यवहार परिवर्तनमा सहयोग पुगेको बताए ।
नारायण नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले समुदायका लागि संचालित प्रारम्भिक बाल विकास केन्द्र तत्काल संचालनमा ल्याउने प्रतिबद्धता जनाउनुयभयो । समुदायका अभिभावकका कारण केन्द्र बन्द भएको बताउँदै नगर प्रमुख खड्काले केन्द्र बन्द भएकै कारण बाल विकास केन्द्रकी शिक्षिकालाई अर्कै विद्यालयमा पठाइएको बताए ।
समुदायका बालबालिकाको व्यवहार परिवर्तन गर्ने उदेश्य सहित संचालन भएको बाल चौतारीलाई आवश्यक सहयोग गर्ने नगरप्रमुख खड्काले प्रतिबद्धता जनाए । नगरप्रमुख खड्काले नमूना बस्तीका महिलाहरुलाई व्यवसायिक तालिम प्रदान गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।
दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरिबहादुर खत्रीले बादी समुदायका बालबालिकाहरुमा आएको परिवर्तनले आफुलाई खुसी बनाएको प्रतिक्रिया दिनुभयो ।
सोसेक नमुना बाल चौतारीमा हाल बादी र अन्य समुदायका गरी ४० जना बालबालिका सहभागी हुने गरेका छन् । हालसम्म १० वटा कक्षा संचालन भइसकेको बाल चौतारीलाई सहजिकरण गरिरहेकी युवा अभियान्ता सजना सुनारले बताइन् । माथिल्लो उमेर समुहका बालबालिकाहरुले साना बालबालिकाहरुलाई अनुशासन लगाएतका विषयमा सहजिकरण गर्ने गरेको सुनारको भनाई छ ।











प्रतिक्रिया