नेपाल समाचारपत्र, हेटौंडा
मकवानपुरका सञ्चारकर्मी मनोहर ढकालको हत्या अभियोगमा दुई किशोर पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले करिब ४० वर्षीय ढकालको हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा खटिएको ७ सदस्यीय प्रहरी टोलीले १० दिनको गहन अनुसन्धानपछि अभियुक्तहरुको पहिचान गरेको हो ।
जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको छ । हत्या आरोपमा पक्राउ पर्नेमा हेटौंडा–११ का १९ वर्षीय अनमोल पुडासैनी र मकवानपुरको मनहरी गाउँपालिका–१ का १८ वर्षीय प्रवीण वाइबा छन् । अनुसन्धानका क्रममा शुक्रबार साँझ करिब ५ बजे हेटांैडा–४ बाट घटनामा संलग्न मुख्य आरोपी पुडासैनी र वाइबालाई पक्राउ गरिएको हो ।
हत्यापछि ढकालको मोबाइल १० हजारमा खरिद गरेका भीमफेदी–६ बस्ने दिनेश मोबाइल एण्ड इलेक्ट्रोनिक सेन्टरका सञ्चालक ३१ वर्षीय दिनेश थापा तथा सुनको औंठी खरिद गर्ने नारायणी सुनचाँदी पसलका सञ्चालक हेटौंडा–२ बस्ने नारायणबहादुर सुनार पनि पक्राउ परेका छन् ।
पत्रकार सम्मेलनमा हत्याका मुख्य आरोपी पुडासैनीले आफूहरु रहेको स्थानमा गएर ढकालले ‘यहाँ किन बसेको, प्रहरीलाई भन्दिऊँ’ भनेपछि आफूहरुले उनलाई लुटपाट गरेको र धकेल्दा ठोक्किएर मृत्यु भएको बताए ।
पुस २५ गते साँझ करिब पौने ५ बजे आफूहरु बसेर कुराकानी गरिरहेको ठाउँमा ढकाल आएर ‘भाइहरु तिमीहरु जंगलमा किन बसेको, बदमासी गर्न बसेको हो ? प्रहरीलाई बोलाइदिऊँ’ भनेकोले किन त्यस्तो भनेको भनी विवाद भइरहँदा ढकालको हातमा रहेको सुनको औंठी र झोला बोकेकोले प्रलोभनमा परी ढकाललाई हात समाती तानेर लडाइएको र घाँटी थिची सुनको औंठी, पर्स, हार्डडिस्क र झोला खोसेर मुखमा मुक्का प्रहार गरिएको अभियुक्तले बताए । त्यति बेलासम्म ढकालले चलाएको ना. २३ प ६३३८ नम्बर डिस्कभर मोटरसाइकल सडक किनारमा स्टार्ट अबस्थामा नै थियो ।
उनीहरुले पुस २६ गते हेटांैडा–२ स्थित नारायणी सुनचाँदी पसलमा सुनको औंठी बेचेका थिए । उक्त तथ्य खुलेपछि प्रहरीले पसल सञ्चालक ४८ वर्षीय नारायणबहादुर सुनारको पसलबाट औंठी बरामद गरी उनलाई नियन्त्रणमा लिएको थियो । हार्डडिस्क र डाटाकेवल भने हेटौंडा–४ मा रहेको एनसेल कार्यालयपछाडि पुडासैनीको डेराबाट प्रहरीले बरामद गरेको थियो ।
पत्रकार सम्मेलनमा मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञप्रसाद भट्टराईले ढकाल त्यहाँ सही नियतले गएको तर बरालिएका केटाहरुलाई सम्झाउन खोज्दा उनीहरुले लुटपाटको नियतले हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको बताउनुभयो ।
अभियुक्तहरु पहिचान भए पनि ढकाल आफ्नो घरको बाटो छाडेर उक्त दिन त्यहाँ किन गए भन्ने विषय कुरा रहस्यमै छ । उनी परिवारसहित हेटौंडा–११, नवलपुरमा बस्दै आएका थिए । उनका पत्नी र २ छोराछोरी छन् ।











प्रतिक्रिया