आर्मी विशाल स्मृति गोल्डकपको विजेता

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज
विभागीय टोली त्रिभुवन आर्मी क्लबले दोस्रो विशाल स्मृति गोल्डकपकोे उपाधि शनिबार उचालेको छ ।

नारायणी रंगशालामा भएको फाईनल खेलमा हिमालयन शेर्पालाई सडन डेथमा हराउँदै आर्मीले उपाधी उचालेको हो । आर्मीले उपाधीसँगै ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ तथा उपविजेता शेर्पाले २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गरे । पूर्व राष्ट्रिय फुटबल टीमका पूर्व राष्ट्रिय खेलाडी विशालजंग राणाको स्मृतिमा शुरु गरिएको विशाल गोल्डकपको अघिल्लो उपाधी पनि आर्मीले नै जितेको थियो । निर्धारित समयमा दुवै टिमले एक÷एक गोलको बराबरी गरेपछि खेल ट्राईबेकरमा धकेलिएको थियो ।

ट्राईबेकरमा पनि ५–५ को बराबरी भएपछि सडन डेढमा आर्मीले बाजी मारेको थियो । शेर्पाका विश्वास श्रेष्ठले खेलको पहिलो हाफमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा आर्मीका सन्तोष तामाङले जवाफी गोल फर्काएका थिए । निकै प्रतिश्पर्धात्मक र रोमाञ्चक बनेको खेल हेर्न नारायणी रंगशालामा दर्शकहरुको भिड लागेको थियो । पूर्व र पश्चिम प्याराफिट मात्रै बस्न योग्य भएपनि दर्शकको चाप बढेपछि दक्षिण तर्फको प्यारफिटमा पनि बस्न लगाईएको थियो ।

खेलको अन्तिमतिर शेर्पाका विदेशी डाडी वामाले आर्मीका सेसाङ लिम्बुलाई फाउल गरेपछि रातो कार्ड पाएका थिए । शेर्पा १० खेलाडीमा सिमित भएपनि आर्मीलाई गोल गर्न दिएन् । त्यसपछि थप गरिएको ४ मिनेटको समयमा पनि कुनै टिमबाट गोल हुन सकेन । ट्राईब्रेकरमा ७÷७ जना खेलाडीले पेनाल्टी हान्दा आर्मीका ६ जना र हिमालयन शेर्पाका ५ जना खेलाडीले मात्रै गोल गर्न सके । हिमालयनका मान बहादुृर तमाङ म्यान अफ दी म्याच घोषित भए ।

शेर्पाका विश्वास श्रेष्ठ म्यान अफ दि टुर्नामेन्ट बन्न सफल भए । उनले सुजुकीको जिक्सर हात पारे । वेष्ट गोल किपर आर्मीका विकेश कुथुले नगद १५ हजार पुरस्कार पाए । आर्मीका दिपक गुरुङ वेष्ट डिफेन्डर, आर्मीकै सन्तोष तामाङ वेष्ट मिड फिल्डर, आर्मीकै नविन न्यौपाने वेष्ट कोच हुन सफल भए । शेर्पाका विश्वास श्रेष्ठ वेष्ट स्ट्राईकर बन्न सफल भए ।