राजाबाबुको उत्कृष्ट प्रर्दशनमा संकटा अन्तिम आठमा


गोकुल घोरसाइने, बारा
गोलरक्षक राजाबाबु थापाको उत्कृष्ट प्रदर्शनमा सिएमजी संकटा क्लबले सिमरामा जारी रुस्लान १०औं सिमरा गोल्डकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

शनिबार भएको खेलमा सरस्वती यूथ क्लबलाई टाइव्रेकरमा ३–१ ले हराउँदै संकटा अन्तिम आठमा पुगेको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा पुरा भएपछि खेलको नतिजा टाइव्रेकरबाट निकालियो । शुरुवाती अग्रता जोगाउन नसक्दा सरस्वती प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । खेलको ३८ औं मिनेटमा मोहन गुरुङको गोलबाट लिएको अग्रता सरस्वतीले बचाउन सकेन । ५८ औं मिनटमा जय गुरुङले बराबरी गोल फर्काएपछि संकटा खेलमा फर्किएको थियो ।

संकटाको जितमा गोलरक्षक राजाबाबुको उत्कृष्ट प्रदर्शन कारक बन्यो । टाइव्रेकरमा सरस्वतीका तिन प्रहार राजाबाबुले बचाउ गरेका थिए । म्यान अफ द म्याच उनले भिक्टर अमोवी, रमेश घिसिङ र दिपक गुप्ताको प्रहार रोकेका थिए । उनले १० हजार नगद पुरस्कार पनि प्राप्त गरे । संकटाका लागि लक्ष्मण रुचाल, सुरज गुरुङ र रोमन लिम्बुले गोल गरेका थिए । संकटाका अमित तामाङको प्रहार बाहिरीयो भने दिपेश आलेमगरको प्रहार क्रसबारमा लागेर फर्कियो । सरस्वतीका लागि मोहन गुरुङले मात्रै गोल गरे ।

सिमरा गोल्डकपको आठौं संस्करणको विजेता समेत रहेको संकटाले सेमीफाइनल प्रवेशका लागि मंगलबार थ्रीस्टार क्लबको सामना गर्नेछ । संकटाका प्र्रशिक्षक सल्यान खडगीले प्रतिकुल अवस्थाका बाबजुद पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताए । उनले सुदुर पश्चिमको खप्तड गोल्ड कपबाट अघिल्लो रात फर्किए लगत्तै मैदानमा उत्रिएका आफना खेलाडीले उत्कृष्ट प्रदर्शन गरेर जित निकालेको बताए । त्यसैगरी सरस्वतिका कोच प्र्रदीप नेपालले अन्तिम समयमा सम्हालिन नसक्दा टिमले पराजय बेहोर्नु परेको बताए ।