१२ वर्षमा पनि सकिएन काबेली कोरिडोर

0
Shares

गणेश साम्पाङ,पाँचथर
ताप्लेजुङ, पाँचथर र इलाम जिल्लामा उत्पादन भएको विद्युत्लाई केन्द्रीय प्रसारणलाइनमा जोड्न १ सय ३२ केभीए प्रसारणलाइनको काबेली करिडोरको काम १२ वर्षमा पनि सम्पन्न हुन सकेकोे छैन ।

२०६३ सालमा भारतीय निर्माण कम्पनी ज्वग्वार एन्ड एस्टक्चरले १ अर्ब ३० करोडमा निर्माणको जिम्मा लिएको काबेली करिडोरको काम चौथोपटक थपिएको म्याद सकिन्ने समयसम्ममा पनि पँरा हुने छाँटकाँट देखिएको छैन ।

निर्माणको जिम्मा पाएको कम्पनीले कार्यस्थलमा आवश्यक समन्वय नगर्दा काममा ढिलाई भएको हो । आर्थिक वर्ष २०७१÷७२ मा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको भए पनि निर्माण कम्पनीले काममा ढिलाइ गरेको कारण पटक–पटक म्याद थप्दा पनि काम पँँरा गर्न सकेको छैन । काममा ढिलाई भएको विषयमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वैशाखभित्र सम्पन्न गर्न निर्देशन दिनु भएको भए पनि उहाँको निर्देशनको पालना भएन ।

पटक–पटक म्याद थपिँदा पनि काम नसकिएको विषयमा काबेली करिडोर आयोजनाका प्रमुख दीपेन्द्रराज द्विबेदीले आयोजनाको काम शुरु भएपछि विभिन्न प्रकारका अवरोध आएको हुनाले काम सहजरुपले गर्न नसकिएको बताउनुहुन्छ । पछिल्लोपटक आयोजनास्थलमा पर्ने वन क्षेत्रका रुख काट्ने अनुमति नपाउँदा रोकिएको थियो । तर, गएको शुक्रबारदेखि रुख काट्ने अनुमति आई सकेको हुनाले अब फागुन महिनाभित्र करिडोरको काम सम्पन्न हुने उहाँको दाबी छ ।

पाँचथरको अमरपुरदेखि झापाको लखनपुरसम्म ९० किलोमिटर दँरी रहेको सो कोरिडोरको गोदकदेखि लखनपुरसम्मको काम भने यसअघि नै सम्पन्न भइसकेको छ । यता गोदकदेखि फिदिम खण्डमा टावर गाड्ने काम सकिएको छ तार टाग्ने काम पनि ९० प्रतिशत सम्पन्न भइसकेको १० प्रतिशत बाँकी रहेको द्विबेदीले बताउनुभयो । फिदिमको थापाटारदेखि पाँचथरको अमरपुर खण्डमा पर्ने ४० वटा टावरमध्ये २ वटा टावर राख्न बाँकी रहेको छ ।

सो खण्डमा १३ किलोमिटर तार टाग्नुपर्नेमा १० किलोमिटर तार टाँगी सकिएको अब ३ किलोमिटर मात्र बाँकी रहेको द्विबेदीले बताउनुभयो । पाँचथरको अमरपुर, फिदिम, इलामको गोदक र झापाको लखनपुरमा गरी काबेली कोरिडोरमा चार वटा सबस्टेशन रहेका छन् ।

काबेली करिडोरको आयोजना सम्पन्न भएपछि ताप्लेजुङको थेचम्बुमा निर्माण सम्पन्न भएको ५ मेगावाटको फावाखोला जलविद्युत् आयोजना पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर ४ मा निर्माण भइरहेको १० मेगावाटको इवाखोला जलविद्युत् आयोजना वडा नम्बर ५ मा निमार्णधीन २५ मेगावाटको काबेली बी, पाँचथरको हिलिहाङ १ र ३ मा निर्माण भइरहेको ३७ मेगावाटको काबेली १ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रसारणलाइनमा कोरिडोरले जोड्ने छ ।

यसैगरी पाँचथरको फिदिम नगरपलिका वडा नम्बर १० मा निर्माण सम्पन्न भएको १५ मेगावाटको माथिल्लो हेवाखोला जलविद्युत् आयोजना र फिदिम ४ मा निर्माण भइरहेको २२ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत्लाई समेत केन्द्रीय प्रसारणलाइनमा जोड्ने छ । यसरी ताप्लेजुङबाट ५ मेगावाट र पाँचथरबाट एक सय नौ मेगावाट गरी एक सय १४ मेगावाट विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोडिने भएको छ ।

काबेली कोरिडोर समयमा सम्पन्न नहुँदा गत वर्ष निर्माण सम्पन्न भएको १५ मेगावाटको माथिल्लो हेवाखोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् भने वैकल्पिक व्यवस्था गरेर ९ मेगावाट मात्र केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ । त्यस्तै ताप्लेजुङमा निर्माण सम्पन्न भएको ५ मेगावाटको फावाखोला जलविद्युत् आयोजनाको विद्युत् अहिले खेर गइरहेको छ ।