कृषि र पशुपालनका पकेट क्षेत्र

0
Shares

यमलाल भुसाल, बुटवल
देवदह नगरपालिकाले कृषि पेशामा हुने लागत घटाउन तथा उत्पादन बृद्धि गर्नकालागि छुट्टा छुट्टै पकेट क्षेत्र छनौट गरी ती क्षेत्रमा लगानी बढाएको छ ।

नगरपालिकाले नगर सभाबाट कृषि र पशुपालनमा २ करोड रुपैंया विनियोजन गरेको थियो । त्यस्तै संघीय सरकार तथा प्रदेश सरकारले पनि देवदहमा कृषि तथा पशुपालमा केही काम गरेका छन् । विनियोजित बजेटबाट काम गर्नेगरी आलु खेती, अर्गानिक तरकारी खेती, मत्स्य पालन तथा सानो सानो क्षेत्रमा माहुरी पालन, च्याउ खेती, केरा खेती लगायतका पकेट क्षेत्र घोषणा गरी त्यो क्षेत्रमा काम गर्ने किसानलाई बिउविजन, प्राविधिक सहयोग तथा मलखादमा ५० प्रतिशत अनुदान प्रदान गरिएको देवदह नगरपालिकाका नगरप्रमुख हिराबहादुर खत्रीले बताउनुभयो ।

नगरपालिकाले पकेट क्षेत्र निर्धारणकालागि मापदण्ड निर्धारण गरेर सोही अनुसार कार्यक्रम अंगाडी बढाएको हो । एउटा पकेट क्षेत्रका लागि कम्तिमा कलस्टर मिलेको १५ विगाहा जग्गा हुनुपर्दछ । पकेट क्षेत्रमा किसानले खेती सुरु गर्दादेखि उत्पादन भित्र्याउँदासम्म प्रविधिको प्रयोग गरेर गर्न सकिने गरी हुनु पर्नेछ । जसले प्रविधिको प्रयोगका माध्यमबाट उत्पादन लागत घटाउन सकियोस् ।

नगरपालिकाले देवदहको वडा नं. ९ घोडाहामा आलु उत्पादनको पकेट क्षेत्र घोषणा गरेको छ । त्यहाँका करिव १५० किसान आलु खेतीमा संलग्न छन् । त्यस्तै वडा नं. ६ को सरनबारीलाई अर्गानिक तरकारी खेतीकालागि पकेट क्षेत्रको रुपमा छनौट गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

त्यस्तैगरी नगरपालिकाको दक्षिणी क्षेत्र वडा नं. ११ र १२ (साविक सिक्टहन गाबिस)लाई मत्यपालनका लागि पकेट क्षेत्रका रुपमा छनौट गरिएको छ । नगरपालिकाले आलु पकेट क्षेत्रको रुपमा छनौट गरेर किसानलाई बिउबिजन, मलखाद र प्राविधिक सहयोग गरिरहेको घोडाहामा प्रदेश सरकारले स्मार्ट कृषि भिलेज निर्माणका लागि छनौट गरेको छ ।

दुग्ध उत्पादनमा अब्बल देखिएको देवदहमा दुग्द उत्पादनमा लागत घटाउन तथा उत्पादन बृद्धि गर्न नगरसभाले गाईमा नश्ल सुधारकालागि कृतिम गर्भाधान कार्यक्रम पारित गरेको थियो । उक्त कार्यक्रम सञ्चालनका लागि ल्याव रेफ्रजरेटर लगायतका प्राविधिक काम पुरा गरिसकिएको र उन्नत जातको गाईको एआई –आर्टिफिसियल ईन्जामिनेशन (बिउ) आयातका लागि टेण्डर गर्न मात्रै बाँकी रहेको नगरप्रमुख खत्रीले जानकारी दिनुभयो ।

नगरपालिकाले देवदहमा जर्सी र होलिस्टेन्ड जातको गाईको नश्ल सुधार गर्ने निर्णय समेत गरिसकको छ । अव सोही जातको गाई एआई ल्याउन टेण्डर हुने उहाँले बताउनु भयो । सामान्यतया जर्सी जातको गाईले एक वेत अर्थात एक वर्षमा ८ देखि १० हजार लिटर दुध दिन्छ भने होलिस्टेन्ड जातको गाईले १० देखि १२ हजार लिटर दुध दिन्छ । ‘यी जातको गाईको एआई गराउँदा त्यसबाट जन्मेको बाच्छीले त्यसको ठिक आधा दुध दिन्छ भन्ने छ ।’ नगरप्रमुख खत्रीले भन्नुभयो–‘त्यस्तै ९७ प्रतिशत बाच्छि नै जन्मिन्छ भन्ने पनि छ ।’