दैलेखमा अलपत्र परेकी भारतीय एक युवतीको उद्धार

0
Shares

हिक्मत नेपाली, दैलेख ।
दैलेखमा अलपत्र परेकी भारतीय युवतीको उद्धार गरिएको छ । दैलेखबाट उद्धार गरिएकी छिमेकी मुलुक भारतको गुजरात राज्य भरुच जिल्लाकी २४ बर्षिया तस्लिमा बानुलाई बुधवार परिवारको जिम्मा लगाइएको छ ।

दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरि बहादुर खत्री, निमित्त जिल्ला समन्वय अधिकारी पदम सापकोटा, सोसेक दैलेखका अध्यक्ष हीरासिंह थापा लगाएतको उपस्थितीमा युवतीलाई परिवारको जिम्मा लगाइएको हो ।

युवतीलाई दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. ५ पाङकोटका एक युवकले भारतमा रहँदा ललाई फकाई विभिन्न प्रलोभनमा पारी दैलेख ल्याई अलपत्र पारेको मनोविमर्श परामर्शका क्रममा पाइएको महिला तथा बालबालिका केन्द्र (सोसेक) दैलेख, बाल हेल्पलाईन संयोजक रमा श्रेष्ठले बताइन् ।

भारतमा गोविन्द थापा भनेर चिनिने पाङकोटका बिर बहादुर नेपालीले ति युवतीलाई दैलेख ल्याई शारिरिक शोषण गरी अलपत्र पारेको ति युवतीले बताइन् ।

दैलेखमा अलपत्र परेकी युवतीलाई जिल्ला प्रहरी कार्यालय दैलेखको सहयोगमा गत माघ १३ गते उद्धार गरिएको थियो । उद्धार पश्चात सोसेक मार्फत संचालित महिला र बालबालिका केन्द्रमका तीन हप्ता संरक्षणमा रहेकी ति युवतीलाई मनोविमर्श परामर्श सेवा तथा आपत्तकालिक सहयोग गरिएको बाल हेल्पलाईन संयोजक श्रेष्ठले बताइन् ।

ति युवतीको परिवारको खोजीका लागि संस्था मार्फत भारतीय क्राइम ब्रान्चमा खबर गरिएको थियो । भारतीय क्राइम ब्रान्च र भरुच प्रहरीको सहयोगमा युवतीको परिवार पत्ता लगाईएको संयोजक श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार आफ्ना छोरी दैलेखमा रहेको खबर पाए पश्चात युवतीका बुबा सलिम सेख र आमा फरिदा सलिम सेख मंगलवार दैलेख आइपुगेका थिए । महिला र बालबालिका केन्द्रमा रहेकी युवतीलाई उनका बुबा र आमाको जिम्मा लगाइएको छ ।

उनिहरुलाई भारत फिर्ता हुँदा यातायात खर्च बापत दैलेखको नारायण नगरपालिकाले रु ५ हजार सहयोग गरेको छ । युवतीलाई पारिवारिक पुर्नमिलन कार्यक्रममा दैलेखका सहायक प्रजिअ हरि बहादुर खत्रीले सोसेक मार्फत संचालित महिला र बालबालिका केन्द्रले महिला तथा बालबालिकाको क्षेत्रमा उल्लेखनिय कार्य गरेको बताए ।

सोसेक दैलेखका अध्यक्ष हीरासिंह थापाले संस्था मार्फत यस अघि पनि भारतमा अलपत्र परेका महिला तथा बालबालिकाको उद्धार गरि नेपाल फर्काएको बताए ।‘त्यस बाहेक नेपालका विभिन्न जिल्लामा महिला र बालबालिकाको आपत्तकालिन उद्धार, राहत सहयोग तथा पारिवारिक पुर्नमिलन गर्न सफल भएका छौ, अध्यक्ष थापाले भने ।’