गृहमन्त्रीले भनेः जोखिम न्यूनीकरणका लागि स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्छ

0
Shares

नेपाल समाचारपत्र, ललितपुर ।
गृहमन्त्री रामबहादुर थापा बादलले भूकम्पबाट हुने जोखिम न्यूनीकरणका लागि स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताएका छन् ।

२१औं भूकम्प सुरक्षा दिवसको उपलक्ष्यमा भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले ललितपुरमा मंगलबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । गृहमन्त्री बादलले नागरिकको नजिकको सरकार स्थानीय सरकार भएकाले स्थानीय तहलाई स्रोत, साधन सम्पन्न र जिम्मेवार बनाउनु जरुरी भएको स्पष्ट पारे । उनले भने,‘स्थानीय सरकारलाई जिम्मेवार बनाउन सके त्यसको सन्देश छिटोभन्दा छिटो जनतामा पुग्छ , त्यसले जनता जागरुक हुन्छन् ।’ उनले प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरणका लागि जनप्रतिनिधिहरुको भूमिका अत्यन्तै महत्वपूर्ण हुने जिकिर गरे ।

गृहमन्त्री बादलले प्राकृतिक प्रकोप जानकारी दिएर नआउने बताउँदै प्राकृतिक प्रकोपबाट जोगिन पूर्व तयारी का बारेमा समेत नागरिकलाई स्थानीय तहले जागरुक बनाउनुपर्ने बताए । उनले सरकार ,जनप्रतिनिधि र नागरिकको जागरुकताले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यनीकरण गर्न सकिने बताए ।

ललितपुर महनगरपालिकाका मेयर चिरीबाबु महर्जनले महानगरले रातो पुस्तिकामा नै दैबी प्रकोपको शीर्षक अन्तर्गत यस वर्ष ५० लाख रुपैयाँ छुट्याएको वताए । उनले भने, ‘कुनै प्रकोप आइहाले पैसा नभएर राहात र उद्धार गर्नै नसक्ने अवस्थालाई यो शीर्षकको बजेटले सहज वनाएको छ ।’ यस शीर्षक अन्तर्गत महानगरले प्रत्येक वर्षमा बजेट थप्दै लगेर नेपाल सरकारको राहत कोष जस्तै कोष निर्माण गर्ने वताए । मेयर महर्जनले दैवी प्रकोप शीर्षक अन्तर्गत वडा स्तरमा पनि बजेटलाई रकमान्तर गर्न सुरु गरिएको वताए ।

भूकम्पले क्षति ग्रस्त भएका सम्पदाहरुको पुनःनिर्माणका सम्बन्धमा मेयर महर्जनले नेपाल सरकारलाई टेण्डर आव्हान नगर्न अनुरोेध समेत गरे । उनले भने,‘टेण्डर गरेर सम्पदा बनाएमा सम्पदा सकिन्छ, कुरुप हुन्छ, मासिन्छ, हाम्रा सन्ततिले सम्पदा देख्न पाउँदैनन्।’ उनले केन्द्रीय सरकारसंग सार्वजनिक खरिद ऐन संशोधन गर्न समेत माग गरे।

ललितपुर क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्णलाल महर्जनले भकम्पले मान्छे मान्छे मानै नभइ मानव निर्मित कमजोर संरचना भत्किएर किचिँदा मान्छेको मृत्यु हुने वताउँदै वलियो संरचना निर्माणले क्षति क मगर्न सकिने स्पष्ट पारे।

उपमेयर गीता सत्यालले भवन निर्माण संहिता लागू गरेर भवन निर्माण गरे भूकम्पीय जोखिम कम हुने वताइन ्। उनले मापदण्ड पूरा गरेर घर निर्माण गर्न नगरवासीलाई अनुरोध गरिन् । २०७२ सालको भूकम्पले ललितपुर महानगर भित्रका विश्व सम्पदा सूचीमा परेका सात वटा सम्पदामा असर परेको वताइन् । उनले नेपालमा विभिन्न समयमा गएको महाविनाशकारी भूकम्प र त्यसले पु¥याएको क्षतिको चर्चा गर्दै आगामी दिनहरुमा भूकम्पबाट सुरक्षित रहन अपनाउनु पर्ने पूर्व तयारीका विषयमा समेत बताइन्।

प्रमुख जिल्ला अधिाकारी प्रेमराज जोशीले भूकम्प, आगलागी जस्ता प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व तयारी अचुक उपाय भएको वताए। उनले २०७२ सालको भूकम्पले ललितपुरभित्रका सम्पदामा पु¥याएको क्षतिलाई एकीन गरी त्यसको पुनःनिर्माण गर्ने कार्यमा तिब्रता पाएको बताए ।

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद भट्टराईले भूकम्पबाट हुने क्षतिको न्यूनीकरण गर्नका लागि जनचेतना नै प्रमुख भएको वताए । उनले महानगरले लागू गरेका भवन निर्माण सम्बन्धि नियमभित्र रहेर काम गरे मात्रै पनि भूकम्पीय जोखिम न्यूनीकरणमा टेवा पुग्ने बताए ।

वि.सं. १९९० साल माघ २ गते गएको महाविनाशकारी भूकम्पको स्मरण गर्दै वि.सं. २०५५ सालदेखि हरेक वर्षको माघ २ गते भूकम्प सूरक्षा दिवसको रुपमा मनाइदै आएको छ । यस वर्ष ‘विपदबाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ भन्ने नाराकासाथ २१औं भूकम्प सूरक्षा दिवस मनाइएको छ।