माईबेनी मेलामा मेला भर्ने र मकर नुहाउनेको भिड

0
Shares

गणेश घिमिरे, इलाम ।
मकर सक्रान्तिको अवसरमा इलामको माई र जोगमाई खोलामा मंगलबार मकर नुहाउनेको भिड लागेको छ । यी दुई खोलाको संगमस्थलमा माइबेनी मेला समेत लागेको छ ।
खोला किनारमा मकर नुहाउने, पूजाआजा गर्ने, बली चढाउने, परेवा उडाउने देखि दुई खोलाको बीचमा रहेको धान खेतमा भब्य मेला लागेको हो । माइखोलालाई शक्तिकी देवीको रुपमा पुजाआजा गर्ने चलन समेत रहेकाले पूर्वाञ्चलका विभिन्न भाग र भारतको दार्जिलिङ्ग, सिक्किम, मानेभञ्ज्याङ्ग, मिरीक लगायतका स्थानबाट भक्तजन मेला भर्न र मकर नुहाउन माइवेनी जाने गर्छन् ।
माईखोलामा स्नान गर्दा सबै पाप हरण हुने धार्मिक विश्वास समेत रहेको छ । यसबर्ष माइखोलाको किनारलाई सफा गरी तीर्थालुलाई नुहाउन सहज बनाएको आयोजक समितिले जनाएको छ । यसबर्ष बिगतमा जस्तो भक्तजनले मकर नुहाउँदा भोग्नु परेको दुखलाई मध्यनजर गरेर यो बर्ष माइखोलाको किनारलाई सफा गरी खोला आवात जावतका लागि अस्थायि नै भएपनि फड्के पुललाई ब्यबस्थित र सुरक्षित किसिमको बनाएको बताइएको छ ।
बिशेष गरेर बर्षौदेखी माघ १ र २ गते माइबेनीमा मेला लाग्दै आएको छ । इलाम नगरपालिका र माइजोगमाई गाउँपालिका वडा नम्बर ४ नामसालिङ्गको वीचमा लाग्ने मेलामा पहिले एक सातासम्म मानिसहरुको भीड लाग्ने गर्दथ्यो । तर द्धन्द्धकालपछि त्यो क्रम घटेर मेला दुईदिनसम्म मात्रै लाग्ने गरेको छ ।
मेची राजमार्गको गोदक खण्डबाट नजिकै पर्ने त्यस ठाउंँमा मेला भर्न २ गतेसम्म जाने गर्दछन् । इलामको सन्दकपुर मुहान रहेको माइखोला अरु खोलाहरुसंगै झापा पुग्दा कन्काई नामले परिचित छ । कन्काई किनारमा पनि मकर सक्रान्ति अवसरमा भव्य मेला लाग्ने गर्छ ।
राणा शासनकालमा तत्कालिन बडाहाकिम गजराजसिंह थापाले १९२० सालतिर सुरु गरेको माइवेनी मेला ऐतिहासिक भएकाले सबै जातजाति र उमेर समूहकाहरुको भीड लाग्ने गर्छ । मेलामा धान, मारुनी जस्ता परम्परागत कला संस्कृति झल्किने प्रस्तुति भने अचेल देखिंदैनन् । माईबेनीबाट इलामबजारतर्फ फर्कदाँ दुई घण्टाको पैदल हिँडेर बेनीमार्गबाट राईगाउँ, तिल्केनी हुँदै इलामबजार आउन सकिन्छ, भने माईबेनीसम्म ट्याक्सी समेत सञ्चालन हुँदै आएको छ । मेलालाई भब्य र शान्तिपूर्ण ढंगबाट सम्पन्न सुरक्षा ब्यबस्था कडा बनाएको आयोजकले जनाएको छ ।
उखु र सुन्तलाको कारोबार उच्च
माई र जोगमाई खोलाको दोभानमा सोमबारबाट सुरु भएको माइबेनी मेलाको पहिलो दिन नै लाखौं मूल्य बराबरको उखु र सुन्तलाको कारोबार भएको ब्यबसायीले बताएका छन् । सुन्तलाको पकेट क्षेत्र मानिएको जिल्लाको नामसालिङ्ग, सोयाङ्ग र गोदकका कृषकहरुले यतिखेर माइबेनी मेलामा सबैभन्दा धेरै सुन्तला बिक्री गर्ने गरेका छन् ।
यी गाउँको सुन्तला ब्यपारीहरुले कृषकहरुको बगानबाटै खरीद गर्ने गरेका छन् । तर कृषकहरुले माइबेनी मेलामा आफूले बिक्री गर्नेगरी ब्यपारीलाई बगान बेच्ने गरेका छन् । मेलामा एकजना कृषकले कम्तिमा ५० हजार रुपैंयाँ सम्मको सुन्तला बेच्ने गरेको मेलामा सुन्तला बिक्रि गर्न बसेका सोयाङ्गका कृषक मणि राईले बताए ।
मेलामा सुन्तलाको कारोबार भइरहँदा उखुको कारोबार पनि अत्यधिक भएको छ । नामसालिङ्ग, सोयाङ्ग र गोदकमा मात्र उत्पादन हुने उखु कृषकले बजार नपाउँदा हरेक बर्ष लाग्ने माइबेनी कुरेर बस्न बाध्य छन् । उखुको उचित बजार, मूल्य र सहज यातायातको सुबिधा नहुँदा समयमा त्यहाँका कृषकले उखु बेच्न पाउँदैनन् । बर्षमा दुईदिन लाग्ने माइबेनी मेलामा भने कृषकहरु उखु बिक्रि गरेर मनग्ये आम्दानी लिने गर्दछन् । मेलामा एकजना कृषकले ५० हजारदेखि एकलाख रुपैंयाँ बिक्री गर्ने गरेको नामसालिङ्गका उखु कृषक रनबीर देवानले बताए ।
मेलामा स्थानीय स्तरमा उत्पादन भएको उखु र सुन्तलाको लाखौंको कारोबार भइरहँदा चटपटे बिक्रि गर्नेदेखि अस्थायि रुपमा होटल ब्यबसाय तथा लत्ताकपडा र माला बिक्री गर्ने ब्यपारीको कारोबार पनि उच्च हुने गरेको छ । दुईदिने मेलाका लागि दुईसयभन्दा धेरै पसल दर्ता भएका छन् । मेलाबाट संकलन भएको रकम मेला आयोजक समितिले त्यस क्षेत्रका विकासमा खर्च गर्ने गरेको जनाएको छ ।