शिकार खेल्दा गोली लागेर एक जनाको ज्यान गयो

0
Shares

गणेश घिमिरे, इलाम ।
जंगलमा शिकार खेल्ने क्रममा गोलि लागेर मृत्यु भएका एक ब्यक्तिलाई उनकै साथीहरुले कालगतिले मरेको भन्दै शब गाडेको रहस्य चार दिनपछि खुलेको छ । जिल्लाको रोङ गाउँपालिका वडा नम्बर १ कोल्बुङ्ग स्थित अतिपाल भन्ने जंगलमा भरुवा बन्दुक लिएर शिकार खेल्ने क्रममा गोलि लागेका वडा नम्बर ३ का ६३ बर्षका बुद्धिमान राईको मृत्यु भएको थियो ।
गत पुष २४ गते गोलि लागेर घाईते भएका राईको २५ गते मृत्यु भएको थियो । राईको मृत्यु भएपछि संगै शिकार खेल्न गएका सोहि ठाउँका योगराज राई लगायत स्थानीय ६ जनाको मिलेमतोमा बुद्धिमानको मृत्यु कालगतिले भएको भन्दै शबलाई छिपाउने गरी मृतककै बारीमा जातिय परम्परा अनुसार बाकस समेत बनाएर गाडेका थिए ।

बिशेष श्रोतबाट गोलि लागेर मृत्यु भएका बुद्धिमानकोे शब गाडेको सुचना प्राप्त गरेपछि प्रहरीले शिकार खेल्न गएका योगराज राई र प्रशान्त राईलाई नियन्त्रणमा लिएर शब गाडेको स्थानबाट शब निकाल्दा मृतक राईको शरिरभरी गोलिका छर्रा लागेको पाइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शब गाडेको स्थानबाट निकालेपछि प्रहरीले सोधपुछ गर्दा बुद्धिमानको मृत्यु कालगतिले नभई गोलि लागेर मृत्यु भएको प्रशान्तले बयानमा बताएको प्रहरीले बताएको छ । उनको बयान अनुसार प्रहरीले स्थानीय अक्कल बहादुर राईको अलैंची बारीमा एकनाले भरुवा बन्दुक समेत लुकाइ–छिपाई राखेको अवस्थामा बरामद गरेको छ ।

घट्नापछि मृतक बुद्धिमानसंगै शिकार खेल्न गएका सोहि गाउँपालिका ३ का ३९ बर्षका राजबहादुर राई, २२ बर्षका प्रशान्त राई, ५० बर्षका दलबहादुर राई, ३७ बर्षका योगराज राई, ४५ बर्षका तारकुमार राई र ५५ बर्षका सुकमान राईलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबैमाथि अनुसन्धान जारी राख्दै आवश्यक कानुनी प्रकृया अघि बढाइसकेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।