सल्यानमा सोरठी नाच लोप हुँदै

0
Shares

सरिता चलाउने, सल्यान ।
पुरुषले महिलाको भेषमा कलात्मक ढंगले नाच्ने सोरठी नाच सल्यान जिल्लाको निकै प्रचलित नाच मानिएको अहिले लोप हुने अबस्थामा पुगेको छ । मारुनी नाचको नामबाट समेत चिनिने सोरठी पछिल्लो समय भने हराउँदै जान थालेको छ । जिल्लाका अधिकांश स्थानमा दसैँ, तिहार, मेला, पर्व, विवाह, व्रतबन्ध आदिमा निकै नाचिने यो नाच युवा पुस्तामा लोक संस्कृतिको चिन्ता एवं चासोको अभावमा हराउँदै जान थालेको छ । लोप हुने अवस्थामा पुगेको सोरठी नाच संरक्षणमा सल्यानमा पहल थालिएको छ ।

विभिन्न स्थानीय तहले मौलिक कला संस्कृति संरक्षणमा चासो देखाएपछि सोरठी नाचको कला भएकाहरू केही ब्युँझने कोसिस गरेका छन्। युवापुस्ता पनि सोरठी सिक्ने प्रयासमा रहेका छन । सोरठीमा दुईजना मारुनी (जसलाई गोपिनी पनि भनिन्छ) र एक जना पुरुसुङे (जसलाई कृष्ण भनिन्छ) हुन्छन् । केटा मान्छे नै केटीको पहिरनमा मारुनी बनेका हुन्छन् । यस्तै यस नाचमा तीनजना मादले हुन्छन् । सल्यानको हकमा हेर्ने हो भने क्षत्रीहरूको सोरठी नाचमा सहभागिता केही बढी देखिन्छ। सोरठीमा मारुनीले घाँगर, चोली, धरो, रुमाल, गाउँघरतिर पाइने वनस्पति केतुकीको कपाल, चुरा, पोते, टीका आदि लगाउने गर्छन् । पुरुसुङेले दौरा सुरुवाल, स्टकोट लगाएको हुन्छ भने कम्पनी माला र शिरमा सेली पहिरिएको हुन्छ। सोरठीका विभिन्न चरणहरू रहेका हुन्छन ।

जिल्लामा ५२ चरण गाउने गरेको पाइन्छ। तर पछिल्लो समय यो घटेर १२ देखि १५ चरणसम्म सीमित रहेको वरिष्ठ बाध्यवादक तथा गायक खर्कबहादुर बुढाले बताए । उनले भने, ‘सुरुको चरणलाई समेर्ने चरण भनिन्छ सोरठी नाचमा दैवीशक्ति छ भन्ने पनि विश्वास गरिन्छ । किनकी सुरुको चरण समेर्ने चरणमा केही व्यक्ति काप्ने गर्छन् । समेर्ने चरणमा सरस्वती लगायतका देवी देवतालाई पुकार्ने भएकाले सरस्वती चढ्ने व्यक्ति काप्ने गर्दछन् ।’

नाच अन्त्य गर्दा नियमअनुसार मारुनी, पुरुसुङे, मादले लगायतकाले आपूmले पहिरिएका नाचका पोशाकहरू नाँच्दै फुकाल्ने गर्दछन् । दिनभरको थकान मेट्न तथा मनको भावना पोख्न सोरठी नृत्य गर्ने गरिन्छ । समाजमा सानो, ठूलो, जातभात, धनी गरिब नभनिकन सबै मिलेर गाइने र नाचिने सोरठी नाचले सामाजिक सद्भाव र एकतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको स्थानीय बुढापाकाको भनाइ रहको छ । जिल्लाको पिमखोला, हिवल्चा, दमाचौर, त्रिवेणीको पोखरी, चैवाङ, मार्के, रीम, गर्पा, धनवाङजस्ता क्षेत्रमा यो नाच केही बुढापाकाले बचाएका छन । पुरानो पुस्ता हराउँदै जाने र नयाँ पुस्तामा संस्कृति संरक्षण्मा खासै वास्ता नहुँदा सारेठी नाच हराउँदै जान थालेको कपुरकोट गाउँपालिका गाँडापानीका ७५ वर्षीय श्यामलाल विकले बताए ।

गाँडापानीकै रामलाल विकले हरेकवर्ष आफ्नो गाउँमा सोरठी नाचिने र पछिल्ला युवा पुस्तालाई पनि हस्तान्तरण गर्ने कार्य चलिरहेको जनाए । लामो इतिहास बोकेको मौलिक तथा अत्यन्तै लोकप्रिय सोरठी नाचको बारेमा र यसको संगीत र लयको बारेमा पछिल्लो पुस्तालाई पनि जानकारी हुन आवश्यक रहेको सोरठीका संरक्षणकर्ता तथा वरिष्ठ वाद्यवादक खर्कबहादुर बुढा बताउँछन् ।

सोरठी नाच सल्यानीको धरोहर र पहिचान हो । बुढापाका भन्छन्,‘थाहै नपाई नेपाली संस्कृति र मौलिकता लोप हुने अवस्था पनि आइसकेको छ । त्यसैले यसतर्फ सचेत हुनुपर्छ ।’ पछिल्ला दिनहरूमा रोजगारीको सिलसिलामा युवा विदेश पलायन हुने वाध्यताले पनि गाउँका यी लोकप्रिय नाच पनि विस्तारै हराउँदै जान थालेको बुढापाकाको भनाई छ ।