नरेन्द्र केसी, दाङ
रुकुमपूर्व तकसेराका ८७ बर्षीय रतबहादुर बुढा दाङको घोराही उपमहानगरपालिका १८ स्थित ढोडेनीमा निकै प्रशन्न मुद्रामा भेटिनुभयो । कारण थियो– मगर थातथलो रोल्पा रुकुममा नाचिने मगर समुदायको स्थापित र प्रख्यात ‘नचारु नाच’ दाङमै आएको थियो । ‘सानैदेखि यो नाच नाँच्न सिकियो’– लुकुम्याल समाजको थलोमा नचारु नाच हेर्दै बुढाले भन्नुभयो– ‘पहाडमा यो नाच धेरै नाचियो र नचाइयो तर अहिले लोप हुन थालेको नाच हामीलाई खोज्दै दाङमै आएपछि कति खुशी लागेको छ, कति !’
मगर समुदायको थातथलोमा लगातार ६ महिना नाचिन्छ यो नाच । साढे चार महिना गाउँमै नाचिन्छ भने झण्डै दुइ महिना गाउँगाउँमा घुमेर नाचिन्छ । फरक भेषभुषा पहिरिएर सदियौं बर्षदेखि यो नाच नाचिदै आएको भए पनि पछिल्ला बर्षहरुको यो हराउन थालेको छ । रुकुमपूर्वको भूमे गाउँपािलका ३ क्याङ्सीमा ३३ बर्षपछि यो नाचले पुनर्जीवन पाएको छ । पहिलोपटक दाङ झरेको नाचलाई ढोडेनी, फुर्सेखालीलगायत विभिन्न मगर वस्तीमा तामझामका साथ स्वागत गरियो ।
मगर समुदायको पहिचानसँग जोडिएको यो नाच ओझेलमा पर्न थालेपछि ‘जनजाति संस्कृति तथा परिवर्तन केन्द्र’ नाम संस्था बनाएर नाचलाई पुनर्जीवन दिइएको संस्थाका अध्यक्ष भानदेव रोकाले बताउनुभयो । यो नाच अन्य नाचजस्तो सामान्य नभएर फौजी कलामा आधारित रहेको र २२ स्टेपसम्म नियमबद्ध नाच्नुपर्ने भएकाले यसका लागि निकै ठूलो तालिमको आवश्यकता पर्ने उहाँले बताउनुभयो ।
झण्डै तीस जनाको समूहमा नाच्न सकिने यो नाचमा पाँच जना जतिको फरक भूमिका हुन्छ भने अन्यको समान । पाँच जना जति फरक पोशा र घोडचढी लट्ठीसहित व्यंग्य गर्ने, दर्शकलाई जिक्क्याउने र नाच शुरु गरेपछि गीत गाउँदै घरघरमा माग्न जान्छन् । यो समूहलाई कतै ढंग्या त कतै जोगी भन्ने गरिन्छ । अन्य नचारुहरुलाई बाहिरबाट सुरक्षा गर्ने, उनीरुका लागि आवश्यक बस्दोबस्ती जुटाउन घरघरमा पुगेर सहयोग माग्ने काम उनीहरुले पाउने नाचका अर्का अगुवा बिष्णुबहादुर रोकाले बताउनुभयो ।
रुकुमपूर्वमा सामान्यतः साउनको राँके संक्रान्तिका दिनदेखि सुरु गरेर माघे संक्रान्तिका दिनसम्म यो नाच नाचिन्छ । तर, अहिले दशैंबाट पूजापाठ गरेर शुरु गरेर माघसम्म नाच्ने गरेको स्थानीय अगुवाको भनाइ छ । रन्मामैकोट, तकसेरा, हुकाम, महत, जाङ, मोंराबाङ, काँक्री लगायतका एक दर्जनभन्दा बढी गाउँमा यो नाच प्रशिद्ध छ । अहिलेका पुथाउत्तरगंगा र भूमे गाउँपालिकाका सबै गाउँमा यो नाच प्रशिद्ध छ । ढुंगा र तरबारको धारलाई छोएर कसम खाइ सो नाचको सुरुवात गर्ने चलन छ ।
शुरुका साढे चार महिना हरेक दिन साँझपख आ–आफ्नै गाउँमा नाचिने गरिए पनि १२ मंसिरदेखि आफ्नो गाउँ छोडेर छिमेकी गाउँमा गएर नाच्ने परम्परा रहेको छ । मंसिर र पुस महिनाभर अर्काको गाउँमा नाचेर पुस महिनाको मसान्तमा विशेष कार्यक्रम गरेर माघे संक्रान्तिका दिन राँगाको बलि दिई पूजाआजा र भोजभतेर गरेर यसको समापन गरिने गरिएको छ ।











प्रतिक्रिया