अन्तरसहकारी खाद्यान्न व्यवसाय सुरु

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
रुपन्देहीस्थित जिविका बहुउद्देश्यीय सहकारी संस्था र काठमाडौंस्थित उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाबीच अन्तर सहकारी खाद्य व्यवसाय सुरु भएको छ ।

दुबै सहकारी संस्थाका सदस्य कृषक र उपभोक्तालाई कारोबार मार्फत लाभ प्रदान गर्ने उद्देश्यले अन्तरसहकारी खाद्यान्न व्यवसाय सुरु गरिएको हो ।
जिविका सहकारीले जिल्लामा खाद्य सामग्री उत्पादन गरी काठमाडौं पठाउने छ । ती खाद्यन्न उपलब्धि सहकारीले काठमाडौंमा बिक्री गर्ने छ ।

सहकारी र सदस्यले उत्पादन गरेका चामल, दाल, तेल, मसलाजन्य सामग्री लगायत बिक्री वितरण गर्ने उपलब्धिका अध्यक्ष देवराज मिश्रले जानकारी दिनुभयो ।‘हामीबीचको सहकार्यबाट खाद्यसामग्री उत्पादन, संकलन, प्रशोधन, स्तरीकरण, ब्रान्डिङ, प्याकेजिङ र बिक्री वितरण गर्ने छौं’ उहाँले भन्नुभयो ।
जिविका सहकारीले उत्पादन गरेको बखान ब्रान्डको सावा मन्सुली चामल, जिबिका गोल्ड ब्रान्डको गोरखनाथ चामल र जिबिका प्रिमियम ब्रान्डका चामल काठमाडौं उपत्यकाभित्र उपलब्धि सहकारीले थोक तथा खुद्रा बिक्री सुरु गरिसकेको छ ।

उपलब्धिले आफ्नै भवन कैलाशचउर लाजिम्पाटबाट र घट्टेकुलोस्थित बिक्रीकक्षबाट उपभोग्य बस्तुको कारोबार गरिरहेको छ ।

त्यस्तै अन्य बिक्री कक्ष स्थापना गरेर र आफ्ना खाद्यान्न व्यवसाय गर्ने सदस्यको बिक्रीकक्षबाटसमेत बिक्री वितरण गर्ने तयारी गरेको छ । त्यस्तै ललितपुर र भक्तपुर जिल्लामा उपभोक्ता, बहुउद्देश्यीय, कृषि वा अन्य सम्बन्धित विषयगत सहकारी संघसंस्था मार्फत विक्रीवितरण गर्न पहल गर्ने उपलब्धिका योजना तथा विकास समितिका संयोजक विपिन शर्माले जानकारी दिनुभयो ।

सामुहिक प्रयासबाट नेपाली खाद्यसामग्रीको स्तरीकरण, ब्रान्ड प्रमाणिकरण गर्दै आएको संस्थाका अध्यक्ष दामोदर पंगेनीले जानकारी दिनुभयो । उहाँका अनुसार जिविकाले कृषकबाट धान संकलन गरी भण्डारण गर्ने र आफ्नै मिलबाट चामल उत्पादन गरी काठमाडौं पठाउने छ भने उपलब्धिले खाद्य भण्डारबाट खाद्य सामग्री बिक्री गर्ने छ ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीमार्फत दिगो विकास लक्ष्य प्राप्त गर्न सहकारीले उत्पादन बढाउनुपर्ने बताउनुभयो । गुणस्तरमा सम्झौता नगरी सहकारी ब्रान्ड उत्पादनमा सहकारीको ध्यान जानुपर्ने उहाँको भनाइ थियो ।

अन्तर्राष्ट्रिय सहकारी महासंघ(आइसिए)को ग्लोबल सदस्य ओमदेवी मल्लले उत्पादन र सहकारी ब्रान्डमा निरन्तरता दिन उत्पादन र प्याकेजिङमा ध्यान दिन आग्रह गर्नुभयो ।

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्या मीनराज कँडेलले सहकारीले उत्पादन र बजारीकरण गर्न सके विचौलिया अन्त्य हुने बताए ।