कर्णाली प्रदेश कपको उपाधि सुर्खेतको हातमा


धनवीर दाहाल, रुकुम ।
कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ स्थित नाखिरा खेलमैदानमा भएको फाईनलमा जाजरकोटलाई पराजित गर्दै सुर्खेतले उपाधि जितेको हो । फाईनलमा सुर्खेत १४ रनले विजयी भयो । टस जितेर ब्याटिङमा उत्रिएको सुर्खेतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो । उसका लागि भविन सारु मगरले नट आउट ४० र टेक सलामिले पनि ४० रन बनाए । जाजरकोटका लागि प्रणम भडेलले ३ र केशर अधिकारीले २ विकेट लिए ।

१ सय ६१ रनको लक्ष पछ्याएको जाजरकोटले १ सय ४६ रन मात्र बनाउन सक्यो । पुरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा जाजरकोटले उक्त योगफल खडा गरेपनि जित भने हाँसिल गर्न सकेन । जाजरकोटका लागि पदमराज भण्डारीले सर्वाधिक ७१ रनको योगदान दिएपनि अन्य ब्याट्सम्यानले राम्रो अंकमा रन बनाउन नसकेपछि जाजरकोट पराजित हुन पुग्यो । सुर्खेतका कप्तान रविन्द्रजंग शाहीले ४ तथा ललित प्याकुरेलले २ विकेट लिए । विजेता सुर्खेतले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप विजेता जाजरकोटले ६० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक जिल्ला क्रिकेट संघका अध्यक्ष दिपक बाँठामगरले जानकारी दिनुभयो । प्रतियोगीताको म्यान अफ द सिरिज कालिकोटका सुनिल भण्डारी, बेष्ट ब्याट्सम्यान सुर्खेतका रविन्द्रजंग शाही, बेष्ट बलर आयोजक रुकुमका युवराज केसी, इमर्जिङ प्लेयरमा सुर्खेतका टोपेन्द्र जिसी र लोकल इमर्जिङ प्लेयर आयोजक रुकुमका धनजित खड्का घोषित भए ।

उनिहरुलाई ट्रफि र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । कर्णाली प्रदेशको क्रिकेट विकासमा टेवा पुर्याउने उद्ेश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ । गत पुस १० गते कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रवहादुर शाहीले उद्घाटन गरेको प्रतियोगितामा आयोजक रुकुम, सुर्खेत, जाजरकोट, सल्यान, कालिकोट, डोल्पा र जुम्ला जिल्लाले सहभागिता जनाएका थिए । यो जिल्लाकै हाल सम्मको ठुलो तथा कर्णाली प्रदेशकै ठुला क्रिकेट प्रतियोगिता स्तरको प्रतियोगिता भएको आयोजक जिल्ला क्रिकेट संघ रुकुमले जनाएको छ । प्रतियोगितामा सहभागी टीमलाई खान बस्नको व्यवस्था आयोजकले नै मिलाएको थियो भने राष्ट्रिय स्तरका अम्पायरहरुले खेल खेलाएका थिए । यस प्रतियोगितालाई वर्षेनि निरन्तर रुपमा संचालन गरिने जिल्ला क्रिकेट संघ रुकुमका अध्यक्ष बाँठामगरले बताउनुभयो । यहि समयमा हरेक वर्ष यो प्रतियोगिता संचालन हुने उहाँको भनाई छ ।