मेवेदरलाई २ मिनेटमा ९ मिलियन


साइतामा, (एजेन्सी)
अमेरिकी चर्चित मुक्केबाज फ्लोयड मेवेदरले बक्सिंगको एउटा प्रदर्शनी म्याचमा जापानी किक बक्सर तेनशिन नासुकावामाथि शानदार जित हासिल गरेको छ ।

४१ वर्षीय मेवेदरले उनलाई मात्र १ सय ३९ सेकन्डमा हराउँदै ९ मिलियन अमेरिकी डलर जितेका हुन् । २० वर्षीय तेनशिन पेशेवर किकबक्सिंग र मिक्स्ड मार्शल आर्ट्सका अपराजित खेलाडी हुन् ।

मेवेदरविरुद्ध उनी पहिलो राउन्डमा नै ३ पटक रिंगमा ढलेका थिए । उनको त्यस्तो हविगत देखेपछि हार स्वीकारको संकेत स्वरुप उनको कर्नरबाट सेतो टावल रिंगमा फ्याकिएको थियो । यधपि उक्त भिडन्तमा कुनै रेफ्रि भने राखिएको थिएन । यसअघि मेवेदरले आफ्नो अन्तिम फाइट १६ महिना अघि मिक्स्ड मार्सल आर्ट्स च्याम्पियन कोनोर मेकग्रेगोरविरुद्ध खेलेका थिए ।

मेवेदरले जितपछि उक्त प्रतिस्पर्धा मनोरञ्जनका लागि मात्र खेलिएको र यसबाट पूर्ण आनन्द लिएको बताए । उनले तेनशिन जापानका एक महान् खेलाडी भएको बताए । “यस्तो भिडन्त होस् भनेर मेरा जापानी समर्थकहरु चाहन्थे, त्यसैले म पनि खेल्न राजी भएको हुँ –’उनले भने –‘म अहिले पनि रिटायर्ड नै छु र मेरो रेकर्ड ५०–० नै हो।“