क्रिकेटको प्रभाव फुटबलमा


काठमाडौं, (नेस)
अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता आयोजना गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार भएको पत्रकार सम्मेलनमा जनाएअनुसार नेपालको फुटबल खेलको विकासमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रादेसिक अवधारणा अनुरुप सो लिग संचालनमा ल्याउन लागेको हो ।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले पनि कार्यक्रममा एनएसएलको आयोजनाले नेपाली फुटबलमा नयाँ आयाम थपिने बताए । सरसर्ती हेर्दा जारी ए डिभिजन लिगमा कुनै रौनक नदेखिएपछि फुटबलले पनि क्रिकेटको झै कर्पोेरेटहरुलाई संलग्न गराई लिग संचालन गर्न लागेको छ ।

नेपाल फुटबल खेलको इतिहासमा पहिलो पटक एन्फाले फुटबल खेलको दिगो विकास र विस्तार गर्न विकेन्द्रिकरणको निती अनुसार उपत्यका बाहिर लिग संचालन गर्नु पर्नेअनुसार आगामी वर्ष प्रदेसमा पनि लिग आयोजना गर्दैछ । प्रदेश स्तरिय सो लिगका लागि सातै प्रदेशका प्रदेस स्तरिय टोली तयार गरी सम्बन्धित प्रदेशमा रहेका कर्पोरेट हाउसको सहयोगमा प्रदेसको उत्कृष्ट फुटबल टोली बनाउनु पर्नेछ ।

यसरी आएका टोलीमा ए डिभिजन लिगमा सहभागि १४ ए डिभिजन क्लबमध्येबाट १ सय ४० जना खेलाडी छनोट गरिनेछ । यही संख्याको खेलाडीबाट टोली बनाई प्रदेश फुटबल टोलीबीच प्रतिस्पर्धा गराइनेछ ।

यसरी ७ प्रदेशको टोलीहरुलाई सिंगल राउन्ड रोविन लिगको आधारमा न्युनतम भौतिक पुर्वाधार भएको प्रदेशमा प्रतियोगिता आयोजना गर्ने एन्फाले जनायो । प्रतियोगितामा २१ खेलहरु र ४ प्लेअफ गरी कूल २५ खेल हुनेछ ।

प्रतियोगिताको सम्पूर्ण प्राविधिक पक्षको व्यवस्था एन्फाले गर्नेछ । त्यस्तै टोली तयारी र व्यवस्थापन सम्बन्धित सम्पूर्ण काम सम्बन्धित प्रदेशका कर्पोरेट हाउससँग सहकार्य गर्न नेपाल स्पोर्टस् एण्ड इभेन्ट मेनेजमेन्टले जिम्मा लिनेछ । यसमा पनि हाल संचालन लिगमा झै विदेशी खेलाडीको पनि सहभागिता गराइने प्रावधान राखेको छ ।