लिभरपुलको ९ अंकको अग्रता


लन्डन, (एजेन्सी)
लिभरपुलले टोटनहाममाथि ९ अंकको अग्रता लिएर अंकतालिकाको शीर्ष स्थान अझ बलियो बनाएको छ । शनिबार टोटनहाम वोल्भसँग अप्रत्यासितरुपमा पराजित भएपछि लिभरपुलको लागि अंक दुरी फराकिलो पार्ने मौका थियो। त्यो मौकालाई लिभरपुलले खेर जान दिएन । लिभरपुलले घरेलु मैदान एनफिल्डमा आर्सेनललाई ५–१ ले हराएको थियो ।

यो जितले यर्जेन क्लोपको टोलीले यस पटक उपाधि जित्ने सक्ने आस पनि गरेको छ ।

रोबेर्टो फर्मिनोको ह्याट्रिकले लिभरपुललाई जित दिलाएको थियो । त्यसो त पाहुना टोली आर्सेनलले ११औं मिनेटमा एन्सस्ली मेटल्यान्ड नाइल्सको गोलमार्फत् अग्रता लिएको थियो । तर यो अग्रता छिटै तोडियो। फर्मिनोले आर्सेनलको डिफेन्स अलमलिएको फाइदा उठाएर १४औं मिनेटमा बराबरी गोल फर्काए । त्यसको दुई मिनेटमा अर्को गोल थपेर फर्मिनोले लिभरपुललाई २–१ को अग्रतामा राखे भने ३२औं मिनेटमा साडियो मानेले तेस्रो गोल गरे ।

मोहम्मद सालहले पहिलो हाफ सकिन लाग्दा पेनाल्टी गोल गरेर पहिलो हाफमै टोलीलाई ४–१ को बलियो स्थितिमा राखेका थिए । ६५औं मिनेटमा फर्मिनोले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गरे । योसँगै लिभरपुलको अपराजित यात्रा २०औं खेलसम्म आइपुगेको छ भने टोलीले ५४ अंक बटुलेको छ । आर्सेनलको भने २० खेलबाट ३८ अंक मै अडकेको छ।