व्यापार घाटा साढे ५ खर्ब नाघ्यो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
निर्यातको तुलनामा आयात हुने वस्तुको परिणाम उच्च हुँदा नेपालको वैदेशिक व्यापारको अवस्थामा सन्तुलन कायम हुन सकेको छैन। चालु आर्थिक वर्षको पहिलो ५ महिना अवधिमा वैदेशिक व्यापार घाटा साढे ५ खर्ब नाघेको छ।

भन्सार विभागको तथ्यांकअनुसार ५ महिना अवधिमा मुलुकले कुल ६ खर्ब ४४ अर्ब ५० करोड रूपियाँबराबरको वैदेशिक व्यापार गरेकोमा ६ खर्ब ७ अर्ब ६ करोड रूपियाँबराबरको आयात र ३७ अर्ब ५० करोड रूपियाँबराबरको मात्र निर्यात गरेको छ। अर्थात् नेपालले ९४ दशमलव २ प्रतिशत आयात गर्दा ५ दशमलव ८ प्रतिशतमात्र निर्यात गरेको छ।

पाँच महिना अवधिमा मुलुकबाट हुने समग्र निकासीमा सामान्य सुधार देखिए पनि पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापार घाटा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा निकै बढी देखिएको हो। गत आर्थिक वर्षको पहिलो पाँच महिना अवधिमा मुलुकले ४ खर्ब १८ अर्ब रूपियाँबराबरको व्यापार घाटा व्यहोरेको थियो भने यस वर्ष व्यापार घाटाको तथ्याङ्क ३६ दशमलव ११ प्रतिशतले बृद्धि भई ५ अर्ब ६९ अर्ब ५० करोड रूपियाँ पुगेको छ।

नेपालले यस अवधिमा छिमेकी मुलुक भारतसँग मात्र कुल व्यापार घाटाको ६५ प्रतिशत अर्थात् ३ खर्ब ६४ अर्ब ६२ करोड रूपियाँ व्यापार घाटा व्यहोरेको छ। भारतबाट ३ खर्ब ८६ अर्ब ५३ करोड रूपियाँबराबरको वस्तु आयात हुँदा नेपालले भारतमा २१ अर्ब ९१ करोड रूपियाँबराबरको वस्तु निर्यात गरेको छ। अर्को छिमेकी मुलुक चीनसँग नेपालको व्यापार घाटा ८७ अर्ब ७१ करोड रूपियाँबराबर रहेको छ। त्यसैगरी व्यापार घाटा बढी रहेका अन्य मुलुकहरूमा फ्रान्ससँग १४ अर्ब ५७ करोड र संयुक्त अरब इमिरेट्ससँग १५ अर्ब १४ करोड रुपियाँबराबर रहेको छ।

वस्तुगत रूपमा हेर्दा मुलुकले सबैभन्दा धेरै व्यापार घाटा पेट्रोलियम पदार्थको आयातमा व्यहोरेको छ। ५ महिना अवधिमा पेट्रोलियम पदार्थको व्यापार घाटा मात्र ९८ अर्ब ६० करोड रूपियाँबराबरको व्यापार घाटा देखिन्छ। उच्च व्यापार घाटा रहेका अन्य वस्तुहरूमा फलाम तथा स्टिलको आयातमा ६३ अर्ब रूपियाँ, विभिन्न मेसिनरी सामानको आयातमा ४८ अर्ब ३४ करोड रूपियाँ, सवारी साधनको आयातमा ४४ अर्ब ७ करोड रूपियाँ र विभिन्न विद्युतीय सामग्रीको आयातमा ३५ अर्ब २२ करोड रूपियाँबराबर व्यापार घाटा देखिएको छ।