तीन वर्षसम्म पनि पुनर्निर्माण वामे सर्दै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
तीन वर्षसम्म पनि पुनर्निर्माणको कामले गति लिन सकेको छैन। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएको तीन वर्ष पूरा भएको सन्दर्भमा सार्वनिजक तथ्यांकले पुनर्निर्माणको काम अझै वामे सर्दै गरेको संकेत गरेको हो।

भूकम्पका कारण पूर्ण रूपमा क्षति भएका ८ लाख ८४ हजार आवासीय भवनमध्ये करिब ४५ प्रतिशत भवन मात्र निर्माण सम्पन्न भएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो स्थापनाको ३ वर्ष अवधिको समीक्षा र आगामी २ वर्षको कार्ययोजना सार्वजनिक गर्दै अझै पनि ३ लाख ३७ हजार ३ सय १९ ४५ प्रतिशत घर पुनर्निर्माणकै क्रममा रहेको र करिब १० प्रतिशत घर निर्माणको कुनै पनि चरणमा प्रवेश गर्न नसकेको जानकारी दिएको हो।

त्यसैगरी भूकम्पका कारण क्षति पुगेका कुल ७ हजार ५ सय ५३ भवनमध्ये ४ हजार १ सय ७२ अर्थात् ५५ प्रतिशत विद्यालय मात्र निर्माण सम्पन्न भएका छन्। बाँकी १ हजार ९ सय २१ वटा विद्यालय पुनर्निर्माणको क्रममा रहेका छन् भने १ हजार ४ सय ६० सामुदायिक विद्यालयका भवन निर्माणको कुनै पनि चरणमा प्रवेश गर्न सकेको छैनन्।स्वास्थ्य संस्था पुनर्निर्माणमा पनि निकै कम मात्र उपलब्धि देखिएको छ। १ हजार १ सय ९७ वटा स्वास्थ्य संस्थामा पूर्ण रूपमा क्षति पुगेकोमा हालसम्ममा ६ सय ४३ अस्पतालको मात्रै निर्माण सम्पन्न भएको छ। १ सय ४५ स्वास्थ्य संस्था अर्थात् १२ प्रतिशत निर्माणको चरणमा रहेका छन् भने ४ सय ९ वटा स्वास्थ्य संस्था पुनर्निर्माणको काम शुरू हुन सकेको छैन।

स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माणमा ढिलाई भएको विषयमा स्वयं प्राधिकरणले पनि स्वीकारेको छ। सरकारी कार्यालय तथा सुरक्षा निकायको भवन निर्माणमा पनि अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकिएको देखिएको छ। ४ सय १४ वटा सरकारी भवन र ३ सय ८३ वटा सुरक्षा निकायका भवनमा क्षति पुगेकोमा २२ वटा सरकारी भवन र १ सय ७८ वटा सुरक्षा निकायका भवन बन्न बाँकी रहेका छन्। प्राधिकरणले दुई वर्षमा सबै काम सक्ने भने पनि हालसम्म भएको पुनर्निर्माणको अवस्था भने सन्तोषजन देखिएको छैन।

आवासीय भवन निर्माणतर्फ अझै पनि ४५ प्रतिशत भवन मात्रै निर्माण सम्पन्न भएका छन्। २० प्रतिशत सरकारी विद्यालय, २३ प्रतिशत विश्वविद्यालय तथा कलेज, ३५ प्रतिशत स्वास्थ्य संस्था, १२ प्रतिशत सरकारी कार्यालय, ३२ प्रतिशत पुरातात्विक एवं सांस्कृतिक सम्पदा र ५० प्रतिशत सडक पुनर्निर्माणको काम अझै बाँकी रहेको देखिएको छ। तर, पुनर्निर्माण प्राधिकरणले भने स्थानीय तहसँग सहकार्य गरेर पुनर्निर्माणलाई दु्रत गतिमा अघि बढाइने जनाएको छ। भूकम्पका कारण भौगोलिक रूपमा असुरक्षित वस्ती स्थानान्तरण गर्ने काममा पनि प्राधिकरणले उल्लेख्य काम गर्न नसकेको देखिएको छ।