पोखरा विमानस्थल लक्ष्यभन्दा ६ महिना अगाडि पूरा गर्ने तयारी

0
Shares

दीपेन्द्र थापा, काठमाडांै
निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग आगामी चैतभित्र निर्माण पूरा हुने भएको छ। धावनमार्गसँगै ट्रयाक्सी वे, एप्रोनको पनि काम पूरा हुने भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलको रूपमा लिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको चालू आर्थिक वर्षको चार महिनासम्म २२ प्रतिशत भौतिक प्रगति पूरा भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाईका प्रमुख बिनेश मुनकर्मीले जानकारी दिनुभयो। निर्माणधीन विमानस्थलमा चैतपछि आपतकालीन अवतरण गर्न सकिने बताइएको छ। सन् २०२१ को जुलाई १० मा सम्पन्न गर्ने उद्देश्यका साथ शुरू गरिएको विमानस्थलको निर्माणले तीव्रता लिएसँगै धावनमार्गको काम चैतभित्र सकिने भएको हो। आयोजना प्रमुख मुनकर्मीका अनुसार सन् २०२० भित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ ४ सयभन्दा बढी कामदार परिचालन गरिएको बताउनुभयो। उहाँले भन्नुभयो–‘धावनमार्ग, एप्रोन ट्रयाक्सी वेको काम भइरहेको छ। चैतसम्म अन्तिम लियरको निर्माण कार्य पूरा हुनेछ।’ निर्माणाधीन विमानस्थलको धावनमार्ग २ हजार ५ सय मिटर लामो हुनेछ भने ६० मिटरको चौडाइको धावनमार्गमा ३४ सेन्टिमिटरको मोटो ढलान गरिनेछ। एप्रोनको काम १५ दिनभित्र पूरा हुने बताईएको छ।

कुल ३७ सय रोपनीमा निर्माण हुन लागेको विमानस्थल सरकारको राष्ट्रिय गौरवका आयोजनामध्येको एक रहेको छ। चिनियाँ कम्पनी सीएमसी इन्जिनियरिङले निर्माण गर्ने ठेक्का पाएको आयोजनाका लागि चिनियाँ सरकारको नै सहुलियत ऋण प्रदान गरेको छ। करिब २२ अर्ब रुपियाँ लागतमा निर्माण गर्न लागिएको आयोजनाको वरिपरीको लागि ६० रोपनी जग्गाको मुआब्जा वितरण गर्ने काम पनि भइरहेको विमानस्थल आयोजनाले जनाएको छ। इपीसी मोडेलमा निर्माण गर्न लागिएको विमानस्थलको समय सीमाभन्दा ६ महिना अगावै निर्माण सम्पन्न हुने बताइएको छ। प्राविधिक र अन्य गरी १ सय जना चिनियाँर ३ सय नेपाली विमानस्थलको निर्माण काममा खटिएका छन्।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था ९आईकाओ० को नियमअनुसार फोरडी मोडलमा निर्माण भएपछि विमानस्थलमा बोइङ र एयर बसले उडान भर्न सक्ने छन्। आयोजना प्रमुख मुनकर्मीका अनुसार हाल विमानस्थलमा पांर्किङ टर्मिनल विल्डिङ सब–वे ट्रयाक्सी वेको काम भइरहेको छ। निर्माणस्थलमा कडा माटो भएकाले विस्फोट गर्ने तयारी रहेको छ। अन्तर्राष्ट्रिय टर्मिनल १० हजार, आन्तरिक टर्मिनल ४ हजार र कन्ट्रोल टावर १५ सय स्क्वार मिटरको निर्माण हुनेछ। असार मसान्तसम्म बाहिरी भागको ३५ प्रतिशत काम पूरा गरी बर्खाको मौसममा भित्री भागमा काम गर्ने रणनीति लिइएको प्रमुख मुनकर्मीले बताउनुभयो। भित्र काम गर्न जेठभित्र टावर, टर्मिनल बिल्डिङको छाना हाल्ने काम पूरा हुनेछ।
नागरिक उड्डयन प्राधिकरणले चालू आवमा विमानस्थलका लागि ६ अर्ब ८० करोड रुपियाँ बजेट विनियोजन गरेको छ। यता सन् २०१९ को अगस्टदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच गर्ने काम भइरहेको छ। कात्तिकबाट पिचको काम थालिएको विमानस्थलको आगामि ६ महिनाभित्र पूरा गर्ने लक्ष्य लिएको छ। विमानस्थलको हालसम्म करिव ६० प्रतिशत भौतिक प्रगति भएको मन्त्रालयको भनाइ रहेको छ।