संकटाले बराबरी खेल्यो


काठमाडौं, (नेस)
मनाङ मस्र्याङ्दी क्लबलाई उपाधि होडमा चुनौती दिइरहेको संकटा क्लबले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबार बराबरी खेलेको छ। १०औं चरणको खेलमा संकटाले ब्रिगेड ब्वाइज क्लबसँग १–१ बराबरी खेलेको थियो। अमित तामाङले पेनाल्टी गोलमार्फत १३औं मिनेटमै संकटालाई अग्रतामा राखेका थिए। तर ब्रिगेडका जय गुरुङले २८औं मिनेटमा बराबरी गोल फर्काए। यो नतिजाले मनाङलाई आज हुने खेलमा जितेर संकटामाथि ५ अंकको अग्रता बनाउने मौका आएको छ। यसअघिको खेलमा पनि थ्रीस्टार क्लबले च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेलेको छ। मनाङको २७ अंक, संकटाको २५ अंक र थ्रीस्टारको २३ अंक रहेको छ।