आर्थिक राजधानी घोषणा गर्न माग

0
Shares

नेपाल समाचारपत्र, बाँके
अर्थमन्त्री डा। युवराज खतिवडाले विकासमा नेपालगञ्जपछि पर्नै नसक्ने आश्वासन दिनुभएको छ।
अर्थमन्त्री डा। खतिवडाले ४० वर्षअघि आफू पहिलोपटक नेपालगञ्ज आउँदा र त्यसपछिका कालखण्डमा यहाँ आइरहँदा अन्यत्रको भन्दा नेपालगञ्जको औसतमा बढी नै विकास भएको बताउनुभयो।‘म ७१ जिल्ला पुगेको छु। औसतमा नेपालगञ्ज जत्तिको अन्यत्र विकास भएको छैन, नेपालगञ्ज उद्योग बाणिज्य संघको २७औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री डा। खतिवडाले भन्नुभयो–‘अझै नेपालगञ्जको विकास हुनुपर्छ।’

नेपालगञ्ज उद्योगी व्यवसायीले प्रशासनिक केन्द्र अर्थात प्रदेश राजधानीको दौडमा नेपालगञ्ज पछि परेकाले अब आर्थिक राजधानी घोषणा नगरिए ५ नम्बर प्रदेशमा नबसी कर्णाली प्रदेशतिर मिसिने भन्दै ज्ञापन बुझाएपछि अर्थमन्त्री खतिवडाले नेपालगञ्जको विकासमा कुनै कसर नराख्ने आश्वासन दिनुभएको हो।

बाँकेमा निर्माण भइरहेको सिक्टा सिँचाइ आयोजनालाई छिटो सम्पन्न गर्न, नेपलगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन, भेरी अञ्चल अस्पतालको स्तर बढाउन, सिटी हल, नौबस्तामा औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह निर्माणका कुरा सरकारको नोटिस रहेको अर्थमन्त्री खतिवडाले बताउनुभयो।

‘अझै पनि सिक्टा सिँचाइ आयोजना पूरा नहुनु दुःखद हो। हामीले दोषीलाई कारबाही गरेर छिटोभन्दा छिटो काम गर्छौ,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो–‘कृषकको खेत–खेतमा पानी पु¥याउन लागि परेकाछौ।’ नेपालगञ्जदेखि दिल्ली उडानका लागि भारतसँग रुट परमिटका लागि कुरा भइरहेको भन्दै अर्थमन्त्री डा। खतिवडाले उद्योगी व्यवसायीको कर्णाली प्रदेशमा मिसिने प्रसंगलाई सम्बोधन गर्दै भन्नुभयो–‘नेपालगञ्ज ६ नम्बर प्रदेशको प्रवेशद्वार हो। यसको विकास नभई त्यहाँको विकास हुन सक्दैन। अब रह्यो, तपाईं कता जाने कुरा, त्यो तपार्इंकै कुरा हो।’

अर्थमन्त्री खतिवडाले सबैलाई उत्पादनमा जोड्ने र जो उत्पादनमा जोडिन सक्दैन, त्यसलाई सामाजिक सुरक्षासँग जोडेर अघि बढ्ने अभियानमा सरकार रहेको बताउनुभयो। उहाँले निजी क्षेत्रसँग सम्बन्धित धेरै ऐन कानुनहरू परिवर्तन गर्ने र केही त खारेज नै तयारी गरेको भन्दै कर सम्बन्धमा दोहोरो नहुने स्पष्ट पार्नुभयो।

सांसद महेश्वर गहतराजले प्रशासनिक केन्द्रमा नेपालगञ्ज पछाडि परेकाले विकासमा पनि पछाडि परेर कालान्तरमा कोइलाबास बन्ने हो कि भन्ने चिन्ता भएको बताउनुभयो। नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले ब्याजदर नियन्त्रण, ऐन कानुनहरू परिवर्तन, दोहोरो कर प्रणालीको डर हटाउनुपर्ने बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय विमानस्थलसँगै नेपालगञ्जलाई कैलाश मानसरोबरको गेटवेमा रुपमा विकास गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो।

अध्यक्ष राणाले नेपालगञ्जको विकास र भन्सारसँग जोडिएका विषयमा दुई दिनपछि नै भारतको उत्तरप्रदेशमा पुगेर मुख्यमन्त्री आदित्यनाथसँग कुरा गर्ने बताउनुभयो। नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले नेपालगञ्ज औद्योगिक राजधानी बनाउन सबै लाग्नुपर्ने बताउनुभयो।