चिनी मिलको किसानमाथि शोषण, सरकारले तोकेको मूल्यमा उखु नकिन्ने

0
Shares

नेपाल समाचारपत्र, विराटनगर
क नम्बर प्रदेशको एकमात्रै इस्टर्न सुगर मिलले सरकारले तोकेअनुसारको उखुको मूल्य दिन नसक्ने बताएको छ। गत वर्ष नै सरकारले प्रतिक्विन्टल पाँच सय ३० रुपियाँ मूल्य तोकेको थियो।

गत वर्ष पनि सरकारले तोकेको भन्दा कम मूल्य पाएका झापा, मोरङ र सुनसरीका उखु किसानलाई मिलले यसपटक पनि उचित मूल्य दिन नसक्ने बताएपछि आक्रोसित भएका छन्। सरकारले उखुको समर्थन मूल्य यस वर्ष पनि प्रतिक्विन्टल ५ सय ३० रुपियाँ तोकेको छ।

इस्टर्न सुगर मिलले गत वर्ष मिल घाटामा गएका कारण सञ्चालन नै गर्न नसक्ने भन्दै सरकारले तोकेको मूल्यभन्दा ३० रुपियाँ कम जम्मा ५ सय रुपियाँ प्रतिक्विन्टलमा किसानको उखु खरिद गरेको थियो। मोरङ, सुनसरी र झापाका २ हजार ४ सय कृषकले सुनसरीको बुर्ज गाउँपालिकास्थित इष्टर्र्न सुगर मिललाई गत वर्ष उखु बिक्री गरेका थिए। तर, यस वर्ष गत वर्षको मूल्यमा पनि खरिद गर्न नसक्ने भन्दै सञ्चालकले मिल बन्द गरेर बसेका छन्।

सरकारले तोकेको मूल्य अनुसार किसानलाई मूल्य दिन नसक्ने मिलको भनाइ छ। सरकारले चिनी आयातमा रोक लगाएको भए पनि व्यापारीले गत वर्ष नै भारत र पाकिस्तानबाट चिनी आयात गरेर भण्डारण गरेका कारण आफुहरूको चिनी गोदाममा थन्किरहेको इस्टर्न सुगर मिल सुनसरीका सञ्चालक हितेश गोल्छाले बताउनुभयो। यो वर्ष किसानले प्रति क्विन्टल ३ सय ८५ रुपियाँमा उखु दिएमात्रै खरिद गर्ने मिल सञ्चालकको भनाइ छ। यता कृषकले भने सरकारले तोकेको मूल्य अनुसार नै उखु खरिद गर्नुपर्ने बताउँदै आएकाछन्।

गत वर्ष पनि आफूहरू घाटामा गएको भन्दै सरकारले तोकेको भन्दा प्रतिक्वन्टल ३० रुपियाँ छुट गरेको उनीहरूको भनाइ छ। मिलले भने अनुसार आफूहरूले उखु बिक्री गर्दा लागत खर्च समेत नउठ्ने किसानको भनाइ छ। उखु किसान उमानाथ दंगालले भन्नुभयो–‘लागत नै हाम्रो ५ सय रुपियाँको हाराहरीमा छ। तर, मिल सञ्चालकले प्रतिक्विन्टल ३ सय ८५ रुपियाँमा उखु किन्न माग गरिरहेका छन। यस्तो स्थितिमा घाटा खाएर कसरी उखु दिन सकिन्छ,’ उहाँले भन्नुभयो–‘सरकारले तोकेभन्दा पनि अझै ३० रुपियाँ त हामीले कमी नै गरिदिएका छौं।’ अर्का किसान बल्लव श्रेष्ठको दुखेसो पनि यस्तै छ। वर्षभरि केही नाफा हुन्छ कि भनेर मेहनत ग¥यो। तर, प्रतिफल लिने बेलामा हरेक वर्ष मूल्यका लागि हामीसँग बार्गेनिङ गरिन्छ। ’ उहाँले भन्नुभयो– ‘अब प्रतिक्विन्टल ४ सय रुपियाँ पनि दिन नसकिने मिलले बताएपछि हामी बिचल्लीमा परेका छौं।’ यो उखु दिएर अब हामी कहाँ जानु, सरकारले यस विषयमा बोलिदिनु प¥यो।’

इष्टर्र्न सुगर मिलले शुक्रबार सुनसरी र मोरङका केही उखु किसानलाई विराटनरमा छलफलका लागि बोलाएको थियो। किसानले मूल्य नघटाए मिल सञ्चालन गर्न नसकिने भन्दै मिल सञ्चालकले किसानलाई दबाब दिएको छ।