दुर्घटना हुनै नदिऔं


दुर्घटनाको तात्कालिक कारण र अन्य कारणहरूको खोजी गरेर दुर्घटना हुन नदिन अल्पकालीन र दीर्घकालीन रणनीतिक योजनाका बारेमा ध्यान दिएमा दुर्घटना न्यूनीकरण गर्न सकिन्छ। योजना बनाएर कार्यान्वयनका लागि सबै पक्ष जिम्मेवार पनि हुनुपर्दछ। यसको जिम्मेवारी यातायात व्यावसायी, प्रहरी वा अन्यले मात्रै गर्ने होइन, दुर्घटना हुन नदिन समाजका हरेक वर्गका मानिसहरू सचेत हुनु जरुरी हुन्छ।

जसरी पनि यात्रा गर्नुपर्ने मान्यताबाट यात्रु मुक्त हुनु जरुरी एकातिर छ भने अर्कातिर जति सकिन्छ बढी यात्रु सवारी साधानमा राख्ने र जतिसक्यो चाँडो हिँडौ भन्ने सोचबाट सवारीधनी वा चालक पनि मुक्त हुनु जरुरी छ। जति आए पनि हुन्छ भन्ने मानसिकताबाट नियमनकारी निकाय मुक्त हुनु जरुरी छ भने जति पुरानो साधन पनि प्रयोग गर्ने भन्ने मानसिकताबाट सवारीधनी मुक्त हुनु जरुरी छ। यसरी यी जति, जसरी, जस्तो कुरालाई हटाउने हो भने दुर्घटनामा केही न्यूनता ल्याउन सकिन्छ।

पहाडी भू–भाग, साँघुरो सडक र मौसम पनि पहाडी क्षेत्रमा यातायात दुर्घटनाको कारण बन्ने गरेको देखिन्छ। यसका लागि ट्राफिक, प्रहरी र स्थानीय सरकारले एकीकृत योजना बनाएर कडाइका साथ कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यसपछि केही त्रुटि गरी प्रहरीले नियन्त्रणमा लिई कारबाहीमा पर्नेहरूलाई उन्मुक्ति दिन प्रहरीलाई फोन गर्ने प्रवृत्तिको पनि अन्त्य गरिनुपर्दछ।

मेरो मान्छे छोडिदिनुस् भन्नेहरूले के थाहा पाउनुपर्छ भने कुनै दिन उसको त्रुटिले आफ्नो परिवारका सदस्य पनि समस्यामा पर्न सक्छन्। प्रहरीले ज्यादती गर्न लागेको छ भने होसियार गराउनु र खबरदारी गराउनु एक कुरा होला, प्रहरीले अनुसन्धान थालेको हुँदैन छुटाउन फोन आउन शुरू हुन्छन् र गराउँछन्। यस्तो अवस्थाको पनि अन्त्य हुन सक्यो भने दुर्घटनाको संख्या कम हुन सक्छ।

दुर्घटना हाम्रातिर मात्रै हुने होइनन्। पर्याप्त सडक, कडा सडक सुरक्षा, सचेत व्यवसायी र यात्रुहरू भएका देश र ठाउँमा पनि दुर्घटना हुन्छन्। दुर्घटना दुर्घटना भएकाले टार्न नसकिने तर्कहरू पनि नआउने होइनन् तर दुर्घटनाका संख्यामा कमी ल्याउन सकिन्छ। दुर्घटनाबाट हुने जनधनको क्षतिमा कमी ल्याउन सकिन्छ। दुर्घटनालाई कम गर्न नसकिए पनि क्षतिलाई कम गर्ने उपायहरू अबलम्बन गर्न सबै सचेत हुनैपर्दछ। सडक नियमको पालनामा कडाइ ल्याउन नियमनकारी निकायले प्रहरीलाई सहयोग गरे पनि यसमा उपलब्धि हुने देखिन्छ।
– निशान कार्की, नुवाकोट।