रुकुम पश्चिममा कर्णाली प्रदेश कप टी–२० क्रिकेट हुने


धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिममा जिल्लाको हालसम्मकै ठुलो क्रिकेट प्रतियोगीता हुने भएको छ । जिल्ला क्रिकेट संघ रुकुमले पुस १० गते देखि १७ गतेसम्म जिल्लाको चौरजहारी नगरपालिकामा कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ । यो रुकुम पश्चिमको हाल सम्मकै ठुलो क्रिकेट प्रतियोगिता हो । साथै सेवा सुविधा र पुरस्कार राशिका हिशावले कर्णाली प्रदेशमा आयोजना हुने ठुला प्रतियोगिता स्तरकै भएको जिल्ला क्रिकेट संघले जनाएको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र तथा उप विजेताले नगद ६० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ । यसका साथै प्रत्येक खेलमा म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेष्ट बलर, बेष्ट ब्याटसम्यान, इमर्जिङ प्लेयर र लोकल इमर्जिङ प्लेयरको उपाधि पनि दिईने छ ।

त्यस्तै प्रतियोगितामा सहभागी सम्पुर्ण टीमलाई खान बस्नको व्यवस्था आयोजकले नै मिलाएको छ । प्रतियोगिता संचालनका लागि करिब २२ लाख खर्च लाग्ने जिल्ला क्रिकेट संघ रुकुमका अध्यक्ष दिपक बाँठामगरले जानकारी दिए । प्रतियोगीतामा राष्ट्रिय मान्यता प्राप्त अम्पायर तथा प्राविधिकहरुको सहभागीता रहने छ ।

चौरजहारी नगरपालिका सह आयोजक रहेको प्रतियोगितामा अहिलेसम्म कर्णाली प्रदेशका ६ वटा जिल्लाले सहभागीता जनाउने निश्चित भैसकेको जिल्ला क्रिकेट संघ रुकुमले जनाएको छ । आयोजक रुकुम सहित सल्यान, सुर्खेत, कालिकोट, जुम्ला र डोल्पा गरी ६ वटा जिल्लाले प्रतियोगितामा सहभागीता जनाउने निश्चित भैसकेको संघका अध्यक्ष बाँठामगरले बताए ।

कर्णाली प्रदेशका अन्य जिल्लालाई पनि प्रतियोगितामा सहभागी बनाउँने प्रयास भैरहेको उनको भनाई छ । रुकुम पश्चिम सहित कर्णाली प्रदेशको क्रिकेट विकासमा टेवा पुर्याउनुका साथै जिल्लालाई क्रिकेटका माध्यमबाट देशैभरीमा चिनाउने उद्ेश्यले जिल्ला क्रिकेट संघ रुकुमले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले उद्घाटन गर्ने छन् ।

प्रतियोगीता उद्घाटन समारोहमा मुख्य मन्त्री शाही संगै प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसी, प्रदेश सभा सदस्य गोपाल शर्मा लगायतको पनि सहभागीता रहने छ ।