थ्री स्टार र आर्मीले अंक बाँडे


काठमाडौँ, (नेस)
सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार र त्रिभुवन आर्मी क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।

जर्ज प्रिन्स कार्कीले इन्जुरी समयमा गोल गरेपछि थ्रीस्टार त्रिभुवन आर्मी क्लबसँग अंक बाध्य बनेको हो । लिग अन्तर्गत बुधवार भएको खेलमा आर्मीले थ्री स्टारसँग १–१ गोलको बराबरी खेलेको हो ।

एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा निर्धारित समयमा थ्री स्टारले १–० को अग्रता लिएको थियो । तर थप गरिएको इन्जुरी समयको अन्तिम क्षणमा आर्मीले फ्रिकिक मार्फत गोल गर्दै खेलमा बराबरी गोल फर्काए । आर्मीका जर्ज प्रिन्सले गरेको फ्रिकिक प्रहार सोझै गोलमा परिणत भएको थियो । त्यसअघि निराजन खड्काले मार्टिन्सको पासमा खेलको ७०औँ मिनेटमा गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए ।

आर्मीसँग अंक बाँड्नु परेपछि थ्री स्टारले दोस्रो शीर्ष स्थानको मनाङसँग अंक दूरी कम पार्ने अवसर गुमाएको छ । यस्तै थ्री स्टार दोस्रो स्थानको संकटाभन्दा दुई अंकले पछि छ । समान ९ खेल खेलेपछि मनाङ शतप्रतिशत नतिजासहित २७ अंकका साथ शीर्ष स्थानमा छ भने २४ अंक जोडेको संकटा दोस्रो स्थानमा छ ।

सिजनको पहिलो बराबरीपछि ९ खेलबाट २२ अंक जोडेको थ्री स्टार तेस्रो स्थानमै यथावत छ । यस्तै यस सिजन तेस्रो बराबरी खेलेको आर्मी १८ अंकसहित चौथो स्थानमा छ ।

पुलिस र बीबीसी बराबरीमा
सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबारै भएको खेलमा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।
खेलको पाँचौ मिनेटमा ऋतिक खड्काले गोल गरेका थिए । काजिमको पासमा ऋतिकले गोलरक्षक अर्पण कार्कीलाई बिट गर्दै गोल गरेपछि ब्रिगेड ब्वाइजले अग्रता लिएको हो ।

तर खेलको ७५ औं मिनेटमा पुलिसले खेलमा बराबरी गोल फर्कायो । दिनेश राजवंशीको क्रसमा अभिषेक रिजालको हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । बराबरीसँगै ब्रिगेड ब्वाइजको ९ खेलमा १ जित र १ बराबरीसँगै ४ अंक भएको छ । पुलिसको ४ जित र ३ बराबरीसँगै १५ अंक पुगेको छ ।