माउरिन्होले यूनाइटेड छोडे


लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक जोसे माउरिन्होले क्लब छाडेको बताएको छ ।
मंगलबार यूनाइटेडले एउटा विज्ञप्तीमार्फत् माउरिन्होले क्लब छोडेको खुलासा गरेको हो । यसअघि जारी सिजन युनाइटेडले खराब प्रर्दशन गर्दै आएको कारण माउरिन्होमाथि दवाब बढेको थियो । जसका कारण उनले क्लब छोडेका हुनसक्ने बताइएको छ ।

गत आइतबार इंग्लिश प्रिमियर लिग अन्तर्गत माउरिन्होको नेतृत्वको यूनाइटेड लिभरपुलसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । प्रिमियर लिगका १७ खेल सकिँदा युनाइटेडल ७ जित, ५ बराबरी र ५ हार बेहोरेर २६ अंक जोड्दै छैटौं स्थानमा छ । जुन शिर्ष स्थानको लिभरपुलको भन्दा १९ अंक कम हो ।

सन् २०१६ मा क्लबको प्रशिक्षक नियुक्त भएका माउरिन्होले सोही सिजनमा युरोपा लिगको उपाधि जितेका थिए भने प्रिमियर लिगमा दोस्रो स्थानमा रहँदै गत सिजनको अन्त्य गरेका थिए । माउरिन्होको इतिहास हेर्दा कुनै पनि क्लबमा तेस्रो सिजन बढी नेतृत्व गरेको देखिएको छैन ।

म्यानचेस्टर युनाइटेडमा समेत यही क्रमले निरन्तरता पाएको छ । माउरिन्होको बहिर्गमनसँगै क्लबले अब नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया पनि सुरु गरिने बताएको छ । युनाइटेडले माउरिन्होलाई धन्यवाद दिँदै आगामी दिनका लागि सफलताको कामना समेत दिएका छन् ।