बार्सिलोनाको जितमा मेसीको ह्याट्रिक


लन्डन, (एजेन्सी)
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ ।
कप्तान लियोनल मेसीको ह्याट्रिकमा बार्सिलोनाले १० खेलाडीमा सिमित लेभान्टेलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । आइतबार राति अवे मैदानमा भएको खेलमा मेसीले ह्याट्रिक पुरा गर्दा लुइस स्वारेज र जेरार्ड पिकेले समान एक–एक गोल गरेका थिए ।

बार्सिलोनाले खेलको ३५ औं मिनेटमा लुइस स्वारेजको गोलबाट अग्रता बनाएको थियो । खेलको ४३औं मिनेटमा मेसीले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २–० ले अघि बढेको थियो ।

खेलको ४७ औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को अग्रता दिलाए । खेलको ६० औं मिनेटमा मेसीले ह्याट्रिक पुरा गर्दा बार्सिलोनाको गोलसंख्या चार पुगेको थियो ।

यस्तै खेलको ७६ औं मिनेटमा लेभान्टेका इरिक काबाकाले रातो कार्ड पाउदा घरेलु टोली १० खेलाडीमा समेटियो । खेलको ८८ औं मिनेटमा डिफेन्डर जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनालाई ५–० को फराकिलो जित दिलाए ।

जितपछि बार्सिलोनाले दोस्रो स्थानको सेभिया र एट्लेटिको मेड्रिडसँग ३ अंकको अग्रता बनाएको छ । बार्सिलोनाको १६ खेलबाट ३४ अंक पुगेको छ ।
ला लिगा अन्तर्गत आइतबार भएको अन्य खेलमा सेभियाले जिरोनालाई २–० ले हराउँदा रियल बेटिसले इस्पान्योललाई ३–१ ले तथा भियारियल र हुएस्काले २–२ गोलको बराबरीमा चित्त बुझाए ।